काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया-प्यासिफिक क्षेत्रीय फाइनलको दोस्रो खेलमा नेपालले जापानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । शुक्रबार ओमानको अल अमेरातमा भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जित्दै फिल्डिङ रोजे र जापानलाई ब्याटिङको निम्ति आमन्त्रण दिए ।
नेपाल आज लगातार दोस्रो जितको खोजीमा मैदानमा उत्रिएको छ। यसअघि समूह चरणको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको थियो । उता, जापानले पनि पहिलो खेलमा कुवेतमाथि पाँच विकेटको जित दर्ता गर्दै बलियो प्रदर्शन गरेको थियो । त्यसैले आजको भिडन्त समूह ‘बी’ को शीर्ष स्थानका लागि महत्वपूर्ण मानिएको छ ।
विश्वकप छनोट प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका नौ टोली सहभागी छन् । ती टोलीलाई प्रत्येक समूहमा तीन-तीन टिम रहने गरी तीन समूहमा विभाजन गरिएको छ ।
प्रत्येक समूहका शीर्ष दुई टोली सुपर-६ चरणमा प्रवेश गर्नेछन् । सुपर-६ चरणको शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपका लागि आफ्नो स्थान सुनिश्चित गर्नेछन् ।


















प्रतिक्रिया