काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट-एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा जापानले नेपाललाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा शुक्रबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रनको योगफल बनायो ।
जापानका कप्तान केन्डल काडोवाकी फ्लेमिङले उत्कृष्ट अर्धशतकीय प्रदर्शन गर्दै ४६ बलमा ६ चौका र १ छक्कासहित ६० रन बनाए । त्यस्तै, ए. रहमानले २५ बलमा ३ चौकासहित ३१ रनको योगदान दिए । यी दुई ब्याटर क्रिजमा टिक्दा नेपाली बलरहरूका लागि चुनौतीपूर्ण जोडी सावित भएका थिए ।
नेपालका बलरहरूमा सन्दीप लामिछाने र गुलशन झाले समान दुई-दुई विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले एक-एक विकेट हात पारे ।
नेपाल र जापान दुवै टोलीले पहिलो खेलमा कुवेतलाई पराजित गर्दै एक खेल अगावै सुपर सिक्स चरणमा स्थान सुरक्षित गरिसकेका छन् । आजको खेलले समूह ‘बी’ को विजेता र उपविजेताको टुंगो लगाउनेछ ।
सुपर सिक्स चरणमा समूह विजेताले यसै समूहको पराजित टोलीविरुद्धको जितबाट प्राप्त दुई अंक साथमा लैजाने व्यवस्था भएकाले दुवै टोली आजको खेल जित्ने लक्ष्यका साथ मैदानमा छन् ।


















प्रतिक्रिया