काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट-एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा आज नेपालले कतारसँग प्रतिस्पर्धा गर्दैछ ।
समूह ‘बी’को विजेता बनेको नेपालले समूह ‘ए’को विजेता यूएईलाई एक रनले हराउँदै चार अंक जोडिसकेको छ । अब अंकबिहीन कतारविरुद्ध जित निकाल्दै नेपालले २०२६ टी-२० विश्वकपको यात्रा सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।
नेपाल र कतारबीचको खेल सोमबार राति ८ः४५ बजे ओमानको अल अमेरतमै सुरु हुनेछ ।
सुपर सिक्समा यूएईमाथि रोमाञ्चक जित दर्ता गरिसकेको नेपालले कतारसँगै ओमान र सामाओसँग पनि प्रतिस्पर्धा गर्नेछ । सोमबार कतारसँग भिड्ने नेपालले बुधबार ओमान र शुक्रबार (असोज ३१ गते) सामाओसँग अन्तिम खेल खेल्नेछ ।
सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष तीन टोलीले भारत र श्रीलंकामा हुने सन् २०२६ को टी-२० विश्वकपमा स्थान बनाउनेछन् ।
हाल अंकतालिकामा ओमान र नेपालको समान चार-चार अंक छन् । रनरेटको आधारमा ओमान शीर्ष स्थानमा रहँदा नेपाल दोस्रो स्थानमा छ । दुई अंकसहित यूएई र जापान क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने कतार र सामाओ अझै अंकविहीन छन् ।


















प्रतिक्रिया