कञ्चनपुर । इजरायलमा हमासको आक्रमणमा मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । राष्ट्रिय सम्मानसहित विपिनको महाकालीको भुजेलाघाटमा अन्त्येष्टि गरिएको हो । दाहसंस्कार अद्दि विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो ।
उनको शव इजरायलबाट सोमबार दिउँसो काठमाडौं ल्याइपुर्याइएको थियो । काठमाडौंबाट नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी र त्यहाँबाट धनगढी उपमहानगरपालिकाको महाप्रस्थान यानबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्याइएको थियो ।
विपिनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारी विपिनको घरसम्म पुगेका थिए । उनीहरु आजपनि भुजेलाघाटसम्मको शवयात्रामा सहभागी भएका थिए ।
दुई वर्षअघि अध्ययनको सिलसिलामा इजरायल गएका विपिन जोशीको हमास लडाकुको नियन्त्रणसँगै हत्या भएको थियो ।
दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए ।
तर इजरायल र हमासबीच हालै युद्धबिराम भएपछि बन्धकहरुको रिहाइ गर्ने क्रममा गत २८ असोजमा इजरायली सेनाले विपिनको सन् २०२३ तिरै हत्या पुष्टि भएको सूचना इजरायलस्थित नेपाली दूतावासलाई दिएको थियो ।
नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)का अनुसार इजरायलले पठाएको फरेन्सिक परीक्षण रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख छ ।


















प्रतिक्रिया