बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा अदालतले फाइल झिकाउन आदेश दिएको छ ।
बुटवलस्थित तुलसीपुर उच्च अदालतको इजलासमा बिहीबार दुवै जनासम्बन्धी मुद्दाको पेसी तोकिएको थियो । अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार जिल्ला अदालत रुपन्देहीले जारी गरेको आदेशसहित सम्बन्धित सबै फाइल झिकाउन आदेश जारी गरिएको हो ।
लामिछाने र जोशीमाथि बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोग लागेको छ ।
न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्याल रहेको संयुक्त इजलासले ३ नम्बर पेसीमा मुद्दा सुनेको थियो । यसअघि कात्तिक १३ गते तोकिएको पेसी जोशी पक्षका कानुन व्यवसायीको निवेदनपछि स्थगित भएको थियो ।
त्यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले लामिछाने र जोशीको मुद्दा एकै प्रकृतिको भएकाले दुवैलाई एउटै प्रक्रियामा राखी सुनुवाइ गर्न आदेश दिएको थियो ।


















प्रतिक्रिया