काठमाडौँ । गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरी बहादुर कार्कीले प्रधानमन्त्री सुशिला कार्कीलाई भेटेर एक महिना म्याद थप गर्न सरकारसँग आग्रह गरेका छन् ।
बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्दै आयोगका पदाधिकारीहरूले जाँचबुझ आयोगको म्याद थप गर्न आग्रह गरेका हुन् ।
कार्कीको नेतृत्वमा ५ असोजमा गठित जाँचबुझ आयोगको म्याद सकिन लाग्दा आयोगका पदाधिकारीहरुले बयान लिने क्रम नै जारी रहेको भन्दै म्याद थप गर्न सरकारसँग आग्रह गरेका हुन् ।
गत भदौ २३ गते सुरु भएको जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले तत्कालीन गृहसचिव, गृहमन्त्री र प्रधानमन्त्रीको बयान लिने तयारी गरेको छ ।
भेटका क्रममा अध्यक्ष कार्कीले प्रधानमन्त्री समक्ष आयोगलाई काम गर्न केहि समय अपुग भएकाले एक महिना थप गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए । प्रधानमन्त्री कार्कीले जवाफमा प्रधानमन्त्री कार्कीले समय थप गर्ने जानकारी गराएको उनले बताए ।
जेनजी आन्दोलनका बेला गृह सचिवमा गोकर्णमणि दुवाडी, गृहमन्त्रीमा रमेश लेखक र प्रधानमन्त्री पदमा केपी शर्मा ओली थिए । उनीहरुलाई बयानमा बोलाउनका लागि पत्र काट्ने तयारीमा आयोग छ ।
यद्देपी ओलीले यसअघि आयोगलाई बयान नदिने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
आयोगले हालसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख तथा काठमाडौंका तत्कालीन सीडीओ छबि रिजालसँग बयान लिएको छ । साथै तत्कालीन नेपाल प्रहरी प्रमुख चन्द्रकुबेर खापुङसँग पनि बयान लिइसकेको छ ।
असोज ५ गते तीन महिनाको म्यादसहित गठन भएको आयोगले असोज ९ गतेदेखि कार्यप्रारम्भ गरेको थियो । आयोगको म्याद यही पुस ९ गते सकिँदै छ ।



















प्रतिक्रिया