काठमाडौं । नेपाली मूलका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ । ४२ वर्षको उमेरमा उनको आज भारतको राजधानी दिल्लीमा निधन भएको संगीतकार राजेश घतानीले जानकारी दिएका छन् ।
घतानीका अनुसार तामाङको निधन कार्डियाक अरेस्टका कारण भएको हो । उनको निधनको खबरले नेपाली तथा भारतीय संगीत र चलचित्र क्षेत्रमा शोकको लहर फैलिएको छ ।
प्रशान्त तामाङ भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो संस्करणका विजेता हुन् । उक्त प्रतियोगितामा विजयी भएपछि उनी दक्षिण एशियाली संगीत क्षेत्रमा निकै लोकप्रिय बनेका थिए । संगीतसँगै उनले केही नेपाली चलचित्रहरूमा समेत अभिनय गर्दै अभिनय क्षेत्रमा पनि आफ्नो पहिचान बनाएका थिए ।
व्यक्तिगत जीवनमा तामाङकी श्रीमती र एक छोरी छन् । हालै मात्र उनी बलिउड अभिनेता सलमान खानको एक चलचित्रमा खलनायक (भिलेन)को भूमिकामा अभिनय गरिरहेका थिए । प्रशान्तले थुप्रै नेपाली नेपाली गीत गाएका छन् भने आधा दर्जन बढी फिल्ममा समेत अभिनय गरेका छन् ।
‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी-२’, प्रशान्तका हिट नेपाली फिल्महरु हुन् ।
उनको अकस्मात् निधनले कला क्षेत्रले एक प्रतिभाशाली कलाकार गुमाएको भन्दै विभिन्न कलाकार, शुभेच्छुक तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

















प्रतिक्रिया