काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको समर्थनमा हालसम्म ४९ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर तथा दर्ता गराइसकेको जानकारी दिइएको छ । विशेष महाधिवेशनको उद्घाटन सत्र सञ्चालन गरिरहेका सञ्चालकले कुल ४९ दशमलब ३४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले रजिस्ट्रेसन पूरा गरिसकेको औपचारिक जानकारी दिएका हुन् ।
नेपाली कांग्रेसमा हाल कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । यसअघि पार्टीका करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन गरेका थिए । तर, तीन महिनाअघि उठाइएको उक्त मागलाई पार्टी संस्थापन पक्षले बेवास्ता गरेपछि विशेष महाधिवेशन आह्वानको प्रक्रिया अघि बढाइएको आयोजक पक्षको भनाइ छ ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पहल तथा आह्वानमा विशेष महाधिवेशन आयोजना गरिएको हो । सोहीअनुसार राजधानीको भृकुटीमण्डपमा आजदेखि विशेष महाधिवेशनको उद्घाटन सत्र औपचारिक रूपमा सुरु भएको छ ।
उद्घाटन सत्र नेपाली कांग्रेस काठमाडौँ जिल्ला सभापति कृष्ण सबुज बानियाँको सभापतित्वमा सञ्चालन भइरहेको छ । महाधिवेशनका क्रममा पार्टीको आन्तरिक अवस्था, संगठनात्मक संरचना, नेतृत्वको भूमिका तथा भावी राजनीतिक दिशा सम्बन्धी विषयमा छलफल हुने जनाइएको छ ।
दुई दिनसम्म सञ्चालन हुने यो विशेष महाधिवेशन भोलिसम्म जारी रहनेछ । महाधिवेशनबाट कांग्रेसको आन्तरिक राजनीतिमा महत्वपूर्ण सन्देश जाने अपेक्षा गरिएको छ ।


















प्रतिक्रिया