बुटवल । नेपाली काँग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार चुन्नप्रसाद पौडेलले देशको अर्थतन्त्र सुधारका लागि कृषि क्रान्ति अपरिहार्य रहेको बताएका छन् । कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउन सके पुँजी पलायन रोक्न सकिने उनको भनाइ छ ।
नेपाल किसान महासंघले शुक्रबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रबाट भएका साना प्रयासले मात्र कृषि क्रान्ति सम्भव नहुने उल्लेख गरे । “सरकारले स्पष्ट नीति, लगानीमैत्री वातावरण र लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्छ,” उनले भने ।
यशोदा फूडका सञ्चालकसमेत रहेका पौडेलले आफ्नो उद्योगमार्फत नेपाली किसानलाई प्रोत्साहन दिइरहेको दाबी गरे । उनका अनुसार ‘करेन्ट’ चाउचाउ उत्पादनका लागि वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी मूल्यको नेपाली किसानले उत्पादन गरेको अकबरे खुर्सानी खपत भइरहेको छ । उक्त उत्पादन २५ भन्दा बढी देशमा निर्यात भइरहेको उनले जानकारी दिए ।
स्वदेशी कच्चापदार्थ प्रयोग र निर्यात प्रवर्द्धनले एकातिर पुँजी पलायन रोक्ने तथा अर्कोतिर विदेशी मुद्रा आर्जनमा टेवा पुग्ने उनको तर्क छ । किसानलाई समूहमा आबद्ध गराई लगानी गर्ने र उत्पादित खुर्सानी पूर्वनिर्धारित मूल्यमा खरिद गर्ने व्यवस्था मिलाइएको उनले बताए ।
नेपालमा यस्ता कृषि-आधारित उद्योगहरू विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै पौडेलले नीतिगत सुधार, औद्योगिक तथा व्यावसायिक वातावरण निर्माण र लगानी सुरक्षाका लागि आफू उम्मेदवार बनेको स्पष्ट पारे ।
उनले स्वदेशी कच्चापदार्थमा आधारित उद्योग स्थापना र ती उद्योगका उत्पादन विदेश निर्यात गर्ने दीर्घकालीन नीति आवश्यक रहेको बताए । कृषि क्षेत्रलाई प्रविधिमैत्री र वैज्ञानिक ढंगले विकास गर्नु आफ्नो प्राथमिकतामा रहेको पनि उनले उल्लेख गरे ।
आफूले अघि सारेका एजेन्डा कार्यान्वयनका लागि नेपाली काँग्रेस नेतृत्वको सरकार आवश्यक रहेको भन्दै उनले मतदातालाई मतदानमार्फत समर्थन गर्न आग्रह गरे ।
बुटवललाई ‘स्वास्थ्य हब’ बनाउने प्रतिबद्धता
उम्मेदवार पौडेलले बुटवललाई प्रदेशस्तरीय ‘स्वास्थ्य हब’का रूपमा विकास गर्ने योजना पनि सार्वजनिक गरेका छन् । शुक्रबार स्वास्थ्य क्षेत्रका अस्पताल सञ्चालक, औषधि व्यवसायी तथा फार्मासिस्टहरूसँगको छलफलमा उनले लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा स्तरोन्नति गर्ने र सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) लाई मेडिकल कलेजका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
निजी क्षेत्रबाट सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थालाई थप गुणस्तरीय र सुविधा सम्पन्न बनाउन पहल गर्ने उनले बताए । बुटवल पूर्व-पश्चिम तथा उत्तर-दक्षिणबाट उपचारका लागि आउने सेवाग्राहीको केन्द्र बन्दै गएको उल्लेख गर्दै उनले यहाँको स्वास्थ्य सेवा गुणस्तरीय र विश्वसनीय बनाएर बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्य लिएको बताए ।

















प्रतिक्रिया