बुटवल । ‘चितवन-३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन, रेनु दाहाल दोस्रो’ सेतोपाटी चुनाव विश्लेषण-१’ शृंखला भन्दै हालै सेतोपाटी अनलाईनले निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन गरेर समाचार प्रकाशित गर्यो । जुन कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्थाको बर्खिलाप हो ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) अनुसारउम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न पाइँदैन । यही कारण आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निर्वाचन आयोगले आवश्यक कारबाही गर्न प्रेस काउन्सिललाई सोमबार पत्राचार गरेको छ ।
चितवन क्षेत्र नं.३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि नेकपाबाट उम्मेदवार रेनु दाहालले मतदातालाई प्रभावित पार्ने उद्देश्यले मत सर्वेक्षणको नाममा निर्वाचन आचारसंहिता विपरीत सामग्री प्रकाशित तथा प्रसारित गरिएकोप्रति गम्भीर आपत्ति जनाएकी छन् । चितवन-३ को सेतोपाटी ओपिनियन पोल गम्भीर षड्यन्त्रमूलक र योजनावद्ध छ । जहाँ कसले जित्छ र कसले हार्छ भन्ने कुरा पहिले नै निश्चित गरिएको छ । सेतोपाटी ‘ज्योतिष’को भविष्यवाणी निकै खतरनाक छ, जुन आमरुपमा बुझ्ने तहमा छताछुल्ल भएको छ ।
चुनावी विज्ञानको विश्वव्यापी मान्यता अनुसार निर्वाचनभन्दा १५ दिन अगाडिसम्म न्यूनतम ४० प्रतिशत मतदाता अनिर्णित हुन्छन् । यद्यपी कतिपय अवस्थामा स्वतन्त्र अनुसन्धानकर्ताको रोहवरमा वैज्ञानिक विधिबाट सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्न सकिन्छ । तर सेतोपाटीमा ५० प्रतिशत अनिर्णित मतदातालाई प्रभाव पार्न रचिएको पोलमा ९ सय जनामा मत सर्वेक्षण गरिएको भन्दै नियोजित तयार गरिएको समाचार सार्वजनिक गरिएको छ । जुन प्रचलित कानूनको ठाडो उल्लङ्घन हो ।
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ भन्छन- ‘हामी भन्छौं मिडिया चुक्नु हुँदैन तर हामी नै देखिरहेका छौं, मिडिया चुक्दैछ । सञ्चारकर्मीलाई सुनेका सबै कुरा लेख्ने छुट हुँदैन । हरेक पेशामा जस्तै ज्योतिष बन्न नपाइने पत्रकारिताका पनि केही नियम हुन्छन् ।’ उनका अनुसार कुनै बेला असावधानीवश आचारसंहितामा एकाध पटक चुक्दा मिडियाकर्मी आफैले आजपर्यन्त आलोचना खेपिरहनु परेको छ ।
वास्तवमा चुनावको सन्निकट किटानीका साथ फेक तथ्याङ्क प्रयोग गरेर फलानोले निश्चित जित्छ भन्नु अपराध हो । यस्तो काम एउटा मिडिया र मिडियाकर्मीले गर्न सक्दैन, गर्नुहुँदैन । कुनै मिडियाले ‘यसले जित्छ’ भनेर लेख्नु गलत हो, अर्कोले हार्छ भनेर लेख्नु पनि गलत हो ।
सेतोपाटीले चितवनबाट पितपत्रकारिता शुरु गरेको देखियो । जुन रिपोर्टिङ्गबाट ककपाहरु काँपीरहेका छन । तर यस्ता अफवाहलाई सामान्य रुपमा लिँदै उम्मेदवार रेनु दाहाल भन्छिन- ‘निर्वाचनमा सहभागी भइसकेपछि जीत र हार दुवैलाई सहर्ष स्वीकार गर्नुपर्छ भन्नेमा म स्पष्ट छु । तथापि, मतदाताको विश्वास र साथका आधारमा फराकिलो मतान्तरले विजयी गराउनुहुनेछ भन्ने उच्च मनोबल पनि राखेको छु ।’
लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको साथ र सहयोग जरुरी हुन्छ । लोकतन्त्रको सबैभन्दा बलियो आधार नागरिकको मत हो । तर दुःखको कुरा, यही मत धेरैजसो समय हल्ला, भ्रम, डर, लोभ र भावनात्मक उत्तेजनाको आधारमा प्रयोग भइरहेको देखिन्छ । ‘फलानोले यसलाई भोट हाल्दैछ रे’, ‘त्यो पार्टी जित्दैछ रे’, ‘यो उम्मेदवार बलियो छ रे’ जस्ता अपुष्ट कुराले हाम्रो अमूल्य भोटलाई प्रभावित गरिरहेको छ । यस्तो प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउँछ र अयोग्य, अवसरवादी तथा भिजनविहिन नेतृत्वलाई सत्तामा पुग्ने बाटो खोलिदिन्छ । त्यसैले आजको सन्दर्भमा सबैभन्दा जरुरी कुरा हो, जतिसुकै चुनौति आएपनि पत्रकारिता र पत्रकार हल्लाको पछि नलाग्ने । विवेक प्रयोग गर्ने, तथ्यमा टेकेर समाचार सम्प्रेषण गर्ने । आम जनता पनि हाँसले दुध र पानी छुट्याए झै असल खराब छुट्याएर भोट हाल्ने सचेत नागरिक बन्ने ।
आजको समयमा कोही पनि हल्लाको पछि लाग्नु हुँदैन । भीडको पछि लाग्नु हुँदैन । कहिलेकाँही सत्यको पक्षमा भीड नहुन पनि सक्दछ । तर सत्य सधै सत्य हुन्छ । समाचार पनि सत्य नै लेख्नु पर्दछ । तथ्यमै टेकेर लेख्नु पर्दछ । काल्पनिक कुरा समाचार हुन सक्दैन । ती कथा बन्छन, एकादेशका कथा । त्यसैले सबैले प्रतिज्ञा गरौं- म हल्लाको पछि लागेर समाचार लेख्दिँन । भोट हाल्दिँन । फलानोले यो दल र उम्मेदवारलाई भोट हाल्दैछ रे भन्ने कुराले मेरो अमूल्य भोट प्रभावित हुँदैन । मेरो भोट कसैको दबाब, डर, लोभ वा भावनात्मक उक्साहटमा होइन, स्पष्ट भिजन, ठोस नीति र व्यवहारिक योजनाको आधारमा प्रयोग हुनेछ । यही चेतना आजको नेपाललाई आवश्यक छ ।
तसर्थ पछिल्लो समय तीव्र रूपमा फैलिँदै गएको गम्भीर डिजिटल अपराध गहिरो भ्रम (डिप फेक) चिन्न र चिर्न जरुरी छ । एकातिर मूलधारको भनिने सेतोपाटी जस्तो मिडियाले ‘ज्योतिषी बनेर हात हेराउन’ र भ्रमको व्यापार गर्न थालेको छ भने अर्कोतर्फ प्रविधिको विकासले सस्तो र अत्यधिक विश्वस्त बनाउने गहिरो भ्रम(डिप फेक)हरु विश्वव्यापीरुपमै जोखिमका रुपमा निम्त्याएको छ । नयाँ मिडियाले अभिव्यक्ति स्वतन्त्रता विस्तार गरेको भए पनि यसले मित्थ्या सूचना र प्रविधि दुरुपयोगका नयाँ जोखिमहरू पनि जन्माएका छन । जेहोस, मुलुकमा डिप फेकले राजनीतिक दुरुपयोग, साइबर अपराध, चरित्र हत्या तथा गलत सूचना फैलाउने काम भईरहेकोले सम्भावित प्रभाव र चुनौतीबारे गहिरो अध्ययन आवश्यक देखिन्छ ।

















प्रतिक्रिया