४ आश्विन २०८३, आइतबार | September 20, 2026

निःस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ : प्रधानमन्त्री कार्की

'गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रतिवेदन बुझाउनासाथ कार्यान्वयन हुन्छ'



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निःस्वास्र्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ भन्ने विश्वासका साथ आफूले काम गरेको बताएकी छन् ।

प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि प्रधानमन्त्री कार्कीले भनिन्, “असहज र अनिश्चयपूर्ण अवस्थामा हामिले जिम्मेवारी सम्हालेका थियौँ । तर पनि हामीलाई आत्मविश्वास थियो काम गर्न सक्छौँ भन्ने, लगनशीलता भएमा कुनै कुरामा लागिपरे सम्भव हुने रहेछ, चुनौती भए पनि हामी आफ्नो जिम्मेवारी अनुकूलको काम गर्दै गयौँ ।”

प्रधानमन्त्री कार्कीले चुनौती र बाधा अवरोध धेरै भएको तथा मुख्य चुनौती सुरक्षाको भएको उल्लेख गर्दै एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार काम गरेको बताइन् । “त्यो प्रभावकारी पनि भयो, सफलतासाथ शान्ति कायम गर्न सम्भव भयो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र गृह प्रशासन सबैका बीचमा समन्वय पनि राम्रोसँग भयो । सबैले एउटै राष्ट्रिय भावनाका साथ काम गर्नुभयो, उहाँहरु सबै धन्यवादका पात्र हुनुहुन्छ । सहिद परिवार तथा घाइते योद्धाहरुको संयम र समझदारीलाई पनि यहाँनिर बिर्सन मिल्दैन । उहाँहरुप्रति उच्च सम्मान छ ।” उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले सरकारमाथि विभिन्न प्रकारले आक्रमण र बाधा अवरोध भए पनि त्यसबाट विचलित नभएको उल्लेख गर्दै भनिन्, “जति अवरोध भए पनि हामीले बाटो छाडेनौँ ।”

धेरै चुनौतीको सामना गर्नुपरेको जिकिर गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, “हामीलाई दलहरुले नै अयोग्य भनेकै हुन्, जेनजीका केही व्यक्तिले पनि औँला उठाएकै हुन, तर हामी मुलुकमा शान्ति कायम गर्ने उद्देश्यमा लाग्यौँ ।”

प्रधानमन्त्री कार्कीले रक्तपात नहोस्, कुनै अप्रिय घटना नहोस् र शान्त र अनुशासित रुपमा निर्वाचन होस् भन्ने लागेको उल्लेख गर्दै भनिन्, “सभ्य हिसाबमा होस् भन्ने थियो । चुनावमा हिंसा हुनुहुँदैन भन्ने पहिलो दिनबाटै भनेको हो । हाम्रो प्रयास नै त्यसैमा रह्यो । कसले के भन्छ भनेर हामीले त्यस्ता कुरा सुन्दै सुनेनौँ । हामीले काम मात्र सोच्यौँ । हामीले हाम्रा लागि गरेका पनि होइनौँ । मुलुक र जनताका लागि गरेका हौँ । सिङ्गो मुलुकको साथ पनि पाइयो ।”

निर्वाचन गराउने सन्दर्भमा अझै केही राम्रो गर्न सकेको भए हुन्थ्यो भन्ने लागेको प्रधानमन्त्री कार्कीले उल्लेख गरिन् । उनले भनिन्, “खर्चमा मितव्ययिता अपनायौँ । अझै कम गर्न सकिन्थ्यो । तर भदौ २३ र २४ गतेको घटनाका कारण धेरै साधन नयाँ किन्नुप¥यो । तैपनि यो निर्वाचन निकै नै सभ्य अनि अनुशासित रुपमा सम्पन्न भएको छ ।”

मुलुकका समस्याको समाधानमा इमानदार प्रयासको आवश्यकता औँल्याउँदै प्रधानमन्त्री कार्कीले जेनजीले उठाएका माग सम्बोधन गर्नुपर्नेमा जोड दिइन् । “जस्तो कि देशमा सुशासन होस्, स्वदेशमै बस्न पाइयोस् । यहीँ काम पाइयोस् । भ्रष्टाचार, विभेद र पक्षपात नहोस् । विदेशमा लास बनेर फर्किनुपर्ने अवस्थाको अन्त्य होस् । देशभित्रै गुणस्तरीय शिक्षा पढ्न पाउन् युवाले । संविधानसम्मत मौलिक हकको अक्षरशः पालना होस् । हामीले के गर्न खोजेका थियौँ, के सम्भव भयो, के अधुरो रह्यो र के काम के कारणले सम्भव हुन सकेन भन्ने विषयमा श्वेतपत्र नै छाडेर जान्छौँ । ताकि आगामी सरकारलाई मार्गदर्शन होस्”, उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रतिवेदन बुझाउनासाथ कार्यान्वयन हुने बताइन् । “मैले भन्दै आएकी छु, मुलुकमा कुनै पनि प्रकारको दण्डहीनताले ठाउँ पाउनु हुँदैन । त्यसैले अहिलेको आयोगको मात्र होइन, अरु पनि त्यस्ता प्रतिवेदन छन् भने ती हेर्छौँ र सार्वजनिक गरिदिन्छौँ । ताकि जनताले थाहा पाउँछन्”, उनले भनिन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  १० : ०३ बजे

कुनै चमत्कार नभए कांग्रेस विभाजनको अन्तिम डिलमा पुग्यो : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा । ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को

जनकपुरमा आगलागी, एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको