१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय



काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक २०८२ चैत २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं कार्यदलका संयोजक असिम साहको अध्यक्षतामा बसेको बैठकले कार्यदल गठन गरेकोमा नेपाल सरकारप्रति धन्यवाद व्यक्त गर्ने निर्णय गरेको छ ।

बैठकमा उठेका विषय तथा विभिन्न राजनीतिक दलहरूबाट प्राप्त लिखित धारणा संकलन गरी संविधान संशोधनका प्रमुख मुद्दा पहिचान गर्ने र आगामी कार्ययोजना तयार गर्ने जिम्मेवारी सदस्य सचिव तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव लिलाधर सुवेदीलाई दिइएको छ ।

संयोजक साहले संविधान संशोधनसम्बन्धी विषयलाई बृहत् रूपमा अघि बढाइने जानकारी दिँदै प्रक्रिया राष्ट्रिय सहमति, सहभागिता र तथ्यमा आधारित हुने बताए । उनले नेपालको संविधानको धारा २७४ अनुसार सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता तथा जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी संशोधन गर्न नसकिने स्पष्ट पारे ।

त्यसैगरी, मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत संविधान संशोधनका विषयमा राष्ट्रिय सहमति निर्माण गर्न बहसपत्र तयार गर्ने निर्णय भएको उनले स्मरण गराए । सोही निर्णयअनुसार चैत १६ गते कार्यदल गठन गरिएको थियो ।

संयोजक साहका अनुसार संविधान संशोधनलाई सैद्धान्तिक र व्यावहारिक रूपमा अघि बढाउन सबै राजनीतिक दलको सहभागिता सुनिश्चित गरिनेछ । निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक प्रतिनिधित्व, सांसद मन्त्री नहुने व्यवस्था, गैरदलीय स्थानीय सरकार तथा प्रदेश संरचनाको सुधारजस्ता विषयमा व्यापक छलफल गरिने उनले बताए ।

प्रधानमन्त्रीको तर्फबाट सबै राजनीतिक दल तथा नागरिकसँग संवाद गर्दै सहमतिको आधारमा अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ । बैठकमा सहभागी पक्षहरूले खुला रूपमा बहस गर्दै जिम्मेवारीलाई तार्किक निष्कर्षमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका मोहन आचार्य, नेकपा (एमाले)का डा. भीष्मनाथ अधिकारी, नेकपाका पूर्वमन्त्री देवप्रसाद गुरुङ, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही, जनता समाजवादी पार्टी नेपालका डा. सुरेन्द्रकुमार झा, लोकतान्त्रिक समाजवादी पार्टीका डा. आभाष लाभ तथा राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल रहेका थिए ।

यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगका सचिव इन्दिरा दाहालको पनि बैठकमा उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ९ : ०० बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति