काठमाडौं । जेनजी नेतृ रक्षा बमले गृहमन्त्री गुरुङलाई सार्वजनिक अभिव्यक्तिप्रति सचेत हुन सुझाव दिएकी छन् । गृहमन्त्रीको सम्पत्तिमाथि उठेका प्रश्न र ‘गरिब भएर मर्नु गल्ती’ भन्ने अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै उनले यस्तो आग्रह गरेकी हुन् ।
बमले जनतालाई नै दोष दिने प्रवृत्तिले राजनीतिक अवसर जन्माएको उल्लेख गर्दै गरिबीलाई अपराधजस्तो व्याख्या गर्नु पदीय मर्यादाविपरीत हुने बताएकी छन् । उनले गृहमन्त्रीलाई बेलैमा सच्यिन आग्रह गरेकी छन् ।
उनले ‘गरिब भएर मर्नु गल्ती’ भन्ने अभिव्यक्तिले भोलि गरिब हुनु नै अपराध ठहरिन सक्ने संकेत गर्दै यस्तो सोच खतरनाक हुने टिप्पणी गरेकी छन् ।
बमका अनुसार फिल्मी संवाद र यथार्थ जीवन फरक हुने भन्दै आर्थिक अवस्थाका आधारमा कसैको जीवनलाई गलत भन्न नमिल्ने बताइन् । उनले जीवन संघर्षपूर्ण हुने र सबैले समान अवसर नपाउने यथार्थलाई स्वीकार गर्नुपर्नेमा जोड दिएकी छन् ।
नेपालका २० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि रहेको तथ्य प्रस्तुत गर्दै बमले उच्च आर्थिक हैसियत बनाउने अवसर सीमित मानिसलाई मात्र उपलब्ध हुने बताएकी छन् । राज्यका सीमित स्रोतका कारण सबैको आर्थिक अवस्था तत्काल सुधार गर्न सम्भव नभएको पनि उनले उल्लेख गरेकी छन् ।


















प्रतिक्रिया