काठमाडौं । नेपाल-भारत सीमा नाकाबाट १ सय रुपैयाँ भन्दा बढीको दैनिक उपभोग्य सामानमा उठाउँदै आएको भन्सार शुल्कमा सर्वोच्च अदालतले रोक लगाएको छ। शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले सय रुपैयाँभन्दा माथिका दैनिक उपभोग्य सामानमा भन्सार लिने अर्थ मन्त्रालयको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।
भारतीय सीमा नाकाबाट सय रुपैयाँभन्दा बढी मूल्यको दैनिक उपभोग्य सामान ल्याउँदा भन्सार शुल्क लगाउने कार्य व्यापार सन्धिका प्रावधानविरुद्ध रहेको दाबी गर्दै अधिवक्ता अमितेश पण्डितलगायतले सवोच्चमा रिट दायर गरेका थिए।
वैशाख १४ गते दायर रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले सरकारलाई अन्तरिम आदेश छलफलमा झिकाएको थियो। सरकार पक्षसँगको पनि कुरा सुनेपछि शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र भन्सार विभागका नाममा दैनिक उपभोग्य वएतुमा लगाइएको भन्सार शुल्कमा तत्काल रोक लगाउन अन्तरिम आदेश जारी गरेको हो।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बने लगत्तै सीमानाकामा कडाइ गरिएको थियो। सिमानामा सुरक्षाकर्मीले सामान खोसेका फोटो भिडिओ सार्वजनिक भएको थियो । सर्वोच्चको यो आदेशसँगै यो रिट निवेदनको अन्तिम किनारा नलागेसम्म सरकारले दैनिक उपभोग्य सामानमा भन्सार महसुल उठाउन नपाउने भएको छ ।




















प्रतिक्रिया