१५ जेष्ठ २०८३, शुक्रबार | May 29, 2026

सातौं वर्षमा खबरकुरा : संकटबीच सत्यको अविचल यात्रा



गणतन्त्र दिवसको ऐतिहासिक अवसर पारेर सुरु गरिएको संज्ञान मिडियाद्वारा सञ्चालित खबरकुरा डटकम आज छैठौं वर्ष पूरा गरेर सातौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हाम्रा आदरणीय पाठक, विज्ञापनदाता, शुभचिन्तक, सहयोगीहरूप्रति हामी हार्दिक नमन व्यक्त गर्न चाहन्छौं । यहाँहरूको विश्वास, साथ र प्रेरणाले नै खबरकुरा आज यो बिन्दुसम्म आइपुगेको छ ।

हाम्रो यो यात्रा केवल समयको गणना मात्र नभै संघर्ष, साहस, जिम्मेवारी र सत्यप्रतिको अडानको यात्रा हो । सीमित स्रोतसाधन, चुनौतीपूर्ण परिस्थिति र अनेक दबाबका बीच पनि हामीले पत्रकारिताको मूल धर्मबाट कहिल्यै विचलित हुने बाटो रोजेनौं । सत्यलाई सत्यकै रूपमा प्रस्तुत गर्ने, जनसरोकारका विषयलाई प्राथमिकता दिने र सत्ताको निगरानी गर्ने दायित्वलाई हामीले निरन्तर निर्वाह गर्दै आएका छौं ।

बितेको एक वर्ष नेपालका लागि असाधारण राजनीतिक उथलपुथलको वर्ष बन्यो । भदौ २३ गतेको जेनजी आन्दोलनमा राज्यबाट निर्मम दमन एवं भदौ २४ मा राज्यका संरचना र सार्वजनिक जीवनलाई नै प्रभावित पार्ने गरी भएका आगजनी, ध्वंस र अराजकताका घटनाले मुलुकलाई गम्भीर मोडमा पुर्‍यायो । सिंहदरबार, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत लगायतका सरकारी भवन, निजी आवास, औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानहरूमा भएको आगजनी र ध्वंसले केवल भौतिक क्षति मात्र गरेन, लगानीको वातावरण र नागरिक मनोविज्ञानमै गहिरो चोट पुर्‍यायो ।

राजनीतिक घटनाक्रमले थप अप्रत्याशित मोड लिँदै निर्वाचित सरकार विस्थापित भयो र मुलुक चुनावी सरकारको नेतृत्वमा अघि बढ्यो । फागुन २१ गते सम्पन्न निर्वाचनले नेपालको राजनीतिक इतिहासमै अभूतपूर्व परिणाम दियो । पहिलोपटक कुनै एक राजनीतिक दलले प्रतिनिधिसभामा झण्डै दुई तिहाइ बहुमत हासिल गर्दै शक्तिशाली सरकार निर्माण गर्‍यो । लोकतान्त्रिक अभ्यासको यो नयाँ अध्यायले नेपाली राजनीति नयाँ बहस र नयाँ अपेक्षातर्फ उन्मुख भएको छ ।

तर, यिनै घटनाक्रमबीच प्रेस स्वतन्त्रताको अवस्था भने थप चुनौतीपूर्ण बन्दै गएको अनुभूति भइरहेको छ । सञ्चारमाध्यममाथि निगरानी र नियन्त्रणका प्रयासहरू बढेका छन् । ‘सेल्फ सेन्सरसिप’ को वातावरण गहिरिँदै गएको छ, जहाँ पत्रकार र मिडियाले कतिपय विषयमा बोल्नुअघि नै आफूलाई रोक्नुपर्ने अवस्था सिर्जना हुँदै गएको देखिन्छ । लोकतन्त्रको आधार स्तम्भ मानिने स्वतन्त्र प्रेसमाथिको यस्तो संकुचनले केवल सञ्चार क्षेत्रलाई मात्र होइन, समग्र लोकतान्त्रिक संस्कृतिलाई नै कमजोर बनाउने खतरा बोकेको छ ।

विश्वव्यापी परिस्थिति पनि कम चुनौतीपूर्ण छैन । पश्चिम एशियाको युद्धका कारण विश्व अर्थतन्त्र थप अस्थिर बनेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य आकासिँदा त्यसको प्रत्यक्ष असर जनताको भान्सासम्म पुगेको छ । मूल्यवृद्धि, आर्थिक मन्दी र घट्दो क्रयशक्तिले आम नागरिकलाई मात्र होइन, उद्योग–व्यवसाय र सञ्चार क्षेत्रलाई समेत गम्भीर असर पारेको छ । विज्ञापन बजार खुम्चिँदा सञ्चारमाध्यम सञ्चालन स्वयं चुनौतीपूर्ण बन्दै गएको छ ।

यस्तो विषम परिस्थितिमा पनि खबरकुरा आफ्नो यात्रामा अविचल रहन सफल भएको छ । संकटका बीच पनि सत्य, तथ्य र जिम्मेवार पत्रकारिताको बाटो नछोड्नु नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो । हामीले कुनै शक्ति केन्द्रको मुखपत्र बन्ने होइन, जनताको आवाज बन्ने संकल्पका साथ आफ्नो यात्रालाई निरन्तरता दिएका छौं ।

पत्रकारिता केवल समाचार सम्प्रेषण गर्ने पेशा होइन, यो समाजसँगको उत्तरदायी संवाद पनि हो भन्ने सत्य हामीले बुझेका छौं । त्यसैले हामी आलोचना, सुझाव र प्रतिक्रियालाई सदैव सम्मानपूर्वक ग्रहण गर्छौं । तपाईंहरूको विश्वास नै हाम्रो ऊर्जा हो । सातौं वर्षमा प्रवेश गर्दै गर्दा हामी फेरि एकपटक सत्यका पक्षमा उभिएको हाम्रो कलम झुक्न नदिने प्रतिवद्धता व्यक्त गर्दछौं ।

गणतन्त्र दिवसको यस ऐतिहासिक अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, लोकतान्त्रिक स्थायित्व र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ७ : ०५ बजे

बजेटको आकार अस्वाभाविक रूपमा बढाइयो : वर्षमान पुन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले सरकारले

यस्तो छ २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल

राष्ट्रसेवक कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि

काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गरेको छ ।

आगामी आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङमार्ग सम्पन्न गरिने

काठमाडौँ । आगामी आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङमार्गको निर्माण सम्पन्न गरिने

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि