हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्।
एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियाँलाई सम्बोधन गर्दै पठाएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पार्टीको निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सरकारमा सहभागी सबै मन्त्रीले मंगलबारदेखि लागू हुने गरी संयुक्त रूपमा राजीनामा दिएको उल्लेख गरिएको छ। पत्रमार्फत राजीनामा स्वीकृत गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अघि बढाउन पनि आग्रह गरिएको छ।
थपलियाले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिइएको जानकारी दिएका छन्। यससँगै बानियाँ नेतृत्वको सरकार संकटमा परेको छ। अब संविधानअनुसार मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ।
एमालेबाट सरकारमा कृषि, पशुपन्छी तथा वन–वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत यातायात विषय हेर्ने मन्त्री जयराम थापा, कृषि मन्त्रालयअन्तर्गत वन तथा वातावरण विषय हेर्ने मन्त्री भरतबहादुर केसी, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य विषय हेर्ने मन्त्री किरण थापा तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ सहभागी थिए।
गत असार ३२ गते मन्त्रिपरिषद् बैठकपछि काठमाडौं फर्किएका ती मन्त्रीहरू मंगलबार हेटौंडा पुगेर सामूहिक रूपमा राजीनामा बुझाएका हुन्।
बागमती प्रदेशमा साउन २०८१ देखि नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार सञ्चालनमा थियो। झण्डै दुई वर्षपछि एमालेले सरकारबाट बाहिरिने निर्णय गरेसँगै प्रदेशको सत्ता समीकरण फेरिन लागेको हो ।
यसअघि बागमती प्रदेशमा रहेका १४ मन्त्रालयलाई घटाएर ८ मन्त्रालयमा सीमित गरिएको थियो। मन्त्रालय संख्या घटाइएपछि केही मन्त्री विनाविभागीयसमेत बनेका थिए।
प्रदेशहरूमा एमाले र नेकपाबीच नयाँ सत्ता समीकरण बनाउने गृहकार्य भइरहेको चर्चा चलिरहेका बेला एमालेले बागमती सरकारबाट बाहिरिने निर्णय गरेको हो। केही दिनअघि नेपाली कांग्रेसले पनि एमालेसँगको सहकार्यलाई निरन्तरता नदिने निर्णय गरेको थियो।



















प्रतिक्रिया