काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिएका छन्।
राष्ट्रिय पात्रता तथा प्रवेश परीक्षा (नीट) को प्रश्नपत्र चुहावट (पेपर लिक) प्रकरणलाई लिएर झण्डै एक महिनादेखि नयाँदिल्लीको जन्तर–मन्तरमा भइरहेको आन्दोलन र देशव्यापी विरोध प्रदर्शनका बीच उनले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको जानकारी दिएका हुन्।
सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर)मार्फत प्रधानले आफूले प्रधानमन्त्रीलाई राजीनामा पठाइसकेको, तर त्यसको औपचारिक स्वीकृति हुन बाँकी रहेको बताएका छन्।
उनले लेखेका छन्, ‘जन्तर–मन्तर र देशभर उत्पन्न भएको परिस्थितिको राष्ट्रविरोधी शक्तिहरूले फाइदा नउठाऊन्, देशको एकता कायम रहोस्, कुनै पनि विद्यार्थीको भविष्य कानुनी जटिलतामा नफसोस् र विद्यार्थीहरूले आफ्नो समय अध्ययन तथा करियर निर्माणमा केन्द्रित गर्न सकून् भन्ने सोचका साथ मैले माननीय प्रधानमन्त्रीसमक्ष आफ्नो राजीनामा पठाएको छु।’

आन्दोलनकारीको दाबी – ‘हाम्रो आन्दोलन सफल भयो’
धर्मेन्द्र प्रधानको राजीनामापछि आन्दोलनको नेतृत्व गरिरहेको ककरोच जनता पार्टी (सीजेपी)ले यसलाई आफ्नो आन्दोलनको सफलता भएको दाबी गरेको छ।
पार्टीका संस्थापक अभिजीत दीपकेले भने, ‘हामीले गरेर देखायौं। धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। यदि जनता नडराई सरकारविरुद्ध उभिन्छ भने लोकतन्त्रमा कुनै पनि मन्त्रीलाई जवाफदेही बनाउन सकिन्छ।’
प्रधानको राजीनामाको माग यसअघि कांग्रेससहित अधिकांश विपक्षी दलहरूले पनि निरन्तर गर्दै आएका थिए।

जन्तर–मन्तर आन्दोलन र बुद्धिजीवीहरूको समर्थन
नीट परीक्षा प्रणालीमा पारदर्शिता, जवाफदेहिता र व्यापक सुधारको माग गर्दै गत जुन २० देखि जन्तर-मन्तरमा आन्दोलन जारी छ।
आन्दोलनलाई समर्थन गर्दै भारतका एक सयभन्दा बढी लेखक, कलाकार तथा बुद्धिजीवीहरूले संयुक्त वक्तव्य जारी गरेका छन्। उनीहरूले लगातार भइरहेका प्रश्नपत्र चुहावट र परीक्षा व्यवस्थापनमा देखिएका अनियमितताले सार्वजनिक संस्थाहरूप्रतिको विश्वास गम्भीर रूपमा कमजोर बनाएको बताएका छन्।
आन्दोलनमा लद्दाखका शिक्षाविद् तथा सामाजिक अभियन्ता सोनम वाङचुक पनि सहभागी भएका छन्। उनले आन्दोलनको समर्थनमा अनशनसमेत सुरु गरेका थिए। आन्दोलनलाई चलचित्र, शिक्षा, कला, खेलकुदलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूले पनि समर्थन जनाएका छन्।
सरकारसँग वार्ता, तर मागमा अडिग आन्दोलनकारी
शुक्रबार केन्द्र सरकार र सीजेपीबीच करिब दुई घण्टा वार्ता भएको थियो। वार्तामा आन्दोलनकारी पक्षले शिक्षा मन्त्रीको राजीनामा आफ्नो ‘असम्झौतायोग्य (Non-negotiable)
माग भएको स्पष्ट पारेको थियो।
सरकारका तर्फबाट वार्तामा सहभागी भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले थप छलफलका लागि शनिबार पुनः वार्ता हुने बताएका थिए। तर त्यसअघि नै धर्मेन्द्र प्रधानले राजीनामा दिएको घोषणा गरेका हुन्।

सरकारमाथि बढ्दो राजनीतिक दबाब
जन्तर-मन्तरको आन्दोलनसँगै भारतका विभिन्न राज्यमा पनि विद्यार्थी र युवाहरू शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै सडकमा उत्रिएका थिए। संसदभित्र र बाहिर विपक्षी दलहरूले समेत सरकारमाथि निरन्तर दबाब सिर्जना गरिरहेका थिए।
यसैबीच कांग्रेस सांसद राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि व्यंग्य गर्दै सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मेट्रो बन्द भयो, सडक बन्द भयो, पसल बन्द भए, इन्टरनेट बन्द भयो, खाना पनि रोकियो, तर पेपर लिक भने रोक्न सक्नुभएन।’
उनले आन्दोलनरत विद्यार्थीमाथि सरकारले कठोर व्यवहार गरेको आरोपसमेत लगाएका छन्।
उता, आन्दोलनका कारण दिल्लीका १८ वटा मेट्रो स्टेशन शनिबार बिहानदेखि अर्को सूचना नभएसम्म बन्द गरिएको छ। आन्दोलनकारीहरूले आन्दोलनस्थल वरपर इन्टरनेट सेवा पनि अवरुद्ध गरिएको दाबी गरेका छन्।



















प्रतिक्रिया