हिमाललाई केवल ढुंगा र हिउँको थुप्रो मात्र बुझियो भने त्यो शतप्रतिशत गलत हुन्छ । हिमालको अतृप्त महत्व कति छ भन्ने कुरा हालै मात्र ब्रोड पिकमा जीवन समर्पित गरेका निर्मल पूर्जा (निम्सदाइ) लगायत सयौं शेर्पा दाजुभाइलाई थाहा छ । हिमाल आरोहीलाई थाहा छ । तर, यतिले मात्र पनि हिमालको महत्व पुरा हुँदैन । धार्मिक समुदायमा हिमालको आध्यात्मिक महत्व अझ बढी छ । किनकी हिमालमा ती मानिसले भगवानको उपस्थिति अनुभूति गर्छन् । हिमाल मात्र होइन हिमखण्डबाट सिर्जित तालको महत्व पनि अतुल्य छ । ताल केवल पानीको स्रोत मात्र होइनन्, ती श्रद्धा, विश्वास र आत्मिक शान्तिका प्रतीक बनेका हुन्छन् । संसारका यस्तै केही अलौकिक हिमाल र ताल मध्ये एक हुन् : कैलाश पर्वत र मानसरोवर ताल ।
हिन्दू, बौद्ध, जैन र बोन धर्मावलम्बीका लागि समान रूपमा पवित्र मानिने कैलाश-मानसरोवर क्षेत्र जीवनमा एकपटक पुग्नुपर्ने आध्यात्मिक गन्तव्यका रूपमा परिचित छ । हजारौं वर्षदेखि मानिसले स्वर्गको कल्पना गरिरहेको छ । तर, पृथ्वीमै स्वर्गीय अनुभूति कहाँ हुन्छ भन्ने प्रश्नको उत्तर एउटै छ : कैलाश-मानसरोवर ।

प्रकृतिले बनाएको आध्यात्मिक चमत्कार
६,६३८ मिटर अग्लो कैलाश पर्वत पृथ्वीका सबैभन्दा रहस्यमय हिमशृंखलामध्ये एक हो । विश्वका अग्ला हिमालहरूमध्ये नपरे पनि यसको धार्मिक महत्व अद्वितीय छ ।
हिन्दू धर्ममा यसलाई भगवान शिव र माता पार्वतीको दिव्य निवास मानिन्छ । बौद्ध धर्ममा यो चक्रसंवर (देमचोक)को पवित्र धाम हो । जैन धर्मावलम्बीका लागि प्रथम तीर्थंकर ऋषभदेवले मोक्ष प्राप्त गरेको स्थान यही हो भने बोन धर्ममा पनि यसलाई ब्रह्माण्डको केन्द्रका रूपमा श्रद्धापूर्वक मानिन्छ ।
कैलाशको फेदीमा रहेको मानसरोवर समुद्री सतहबाट करिब ४,६०० मिटर उचाइमा अवस्थित विश्वकै सबैभन्दा अग्ला मीठा पानीका विशाल तालहरूमध्ये एक हो । करिब ४१२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो सरोवरको नीलो पानीमा कैलाशको प्रतिबिम्ब देखिने दृश्य शब्दमा त वर्णन गर्नै गाह्रो ।
मानसरोवरसँगै रहेको अर्को ताल राक्षस तालले यस क्षेत्रको रहस्यलाई अझ गहिरो बनाएको छ । एउटै भूभागमा रहेका यी दुई तालबीचको धार्मिक र सांस्कृतिक कथा आज पनि श्रद्धालुहरूको आकर्षणको विषय बनेको छ ।

जहाँ पुग्दा मन नै बदलिन्छ
कैलाश–मानसरोवर पुगेका अधिकांश यात्रु एउटा कुरा समान रूपमा भन्छन – त्यहाँ पुगेपछि मानिसले आफूभित्रै परिवर्तन भएको महसुस गर्छन् । जब तपाईं कैलाश पर्वत र काखैमा रहेको मानसरोवर क्षेत्रमा जब पुग्नुहुन्छ, तपाईंको मस्तिष्कमा एक चुम्बकीय तरङ्ग उत्पन्न भएको आभाष हुन्छ । यही प्रकृतिमै लुटपुटिरहन पाए हुन्थ्यो भन्ने लाग्छ । यो ठाउँ छोडेर कहिल्यै नजाउँ जस्तो लाग्छ । विराट हिमालको सामुन्ने उभिँदा अहंकार हराउँछ । शून्यताले भरिएको तिब्बती पठारमा हावाको आवाज सुन्दा मन असाधारण रूपमा शान्त हुन्छ । मानसरोवरको किनारमा बसेर केही क्षण मौन हुँदा जीवनका धेरै प्रश्नहरूको उत्तर आफैं भेटिएजस्तो लाग्छ । कैलाशको काख र मानसरोवरको पवित्रताले मानिसलाई फरक सोच्न बाध्य बनाउँछ । यो ठाउँमा जो पुगेको छ, उसले यसको अनुभूति गर्नसक्छ । त्यसैले, हिन्दू तथा बौद्ध दुवै धर्मावलम्बीका लागि यो क्षेत्र पवित्र स्थल मानिन्छ ।

हामी काठमाडौं–ल्हासा हुँदै कैलाश-मानसरोवरसम्मको यात्रा गर्ने अवसर पाएका थियौं । त्यस यात्राको एउटा अविस्मरणीय अनुभूति आज पनि स्मृतिमा ताजै छ – कैलाश पहिलो पटक आँखैअघि देखिएको त्यो क्षण । त्यो क्षणमा न शब्द थियो, न उत्साहको कोलाहल । केवल मौन थियो, श्रद्धा थियो र प्रकृतिप्रतिको असीम सम्मान थियो । सायद यही कारण होला संसारभरका लाखौं मानिस बारम्बार यहाँ फर्किन चाहन्छन् ।

फेरि व्यस्त बनेका यात्रा मार्ग
कोभिड महामारीपछि रोकिएको कैलाश–मानसरोवरको यात्रा प्रतिबन्ध चीनले गतवर्ष हटाएपछि यात्रा पुनः गुल्जार छ । नेपाल हुँदै जाने परम्परागत मार्गहरू व्यस्त छन् । सबैभन्दा लोकप्रिय मार्ग काठमाडौं–रसुवागढी–केरुङ हुँदै सागा र डार्चेन पुग्ने सडक मार्ग हो । पछिल्ला वर्षमा धेरै नेपाली तथा विदेशी तीर्थयात्रीले यही मार्ग रोजिरहेका छन् ।
त्यस्तै, नेपालगन्ज-हुम्ला सिमकोट-हिल्सा-ताक्लाकोट हुँदै डार्चेन पुग्ने छोटो मार्ग पनि सञ्चालनमा छ । समय कम भएका यात्रुहरूका लागि यो मार्ग अझै लोकप्रिय मानिन्छ । हवाई मार्गबाट यात्रा गर्न चाहनेहरू काठमाडौंबाट ल्हासा पुगेर त्यहाँबाट सिगात्से, सागा हुँदै डार्चेन पुग्ने विकल्प पनि प्रयोग गरिरहेका छन् ।
यसैबीच, भारत र चीनबीच सम्बन्ध सुधार भएसँगै भारतीय तीर्थयात्रीका लागि पनि विभिन्न परम्परागत तथा नयाँ मार्गहरू सञ्चालनमा आएका छन् । स्वीकृत नाकाबाट भारतीय श्रद्धालुहरू कैलाश यात्रामा निस्किरहेका छन् ।

कठिन छ, तर असम्भव होइन
कैलाशको पूर्ण परिक्रमा करिब ५५ किलोमिटर लामो छ । अधिकांश यात्रुले यसलाई तीन दिनमा पूरा गर्छन् ।
परिक्रमाको सबैभन्दा चुनौतीपूर्ण भाग डोल्मा-ला पास हो, जहाँ उचाइ करिब ५,६३० मिटर पुग्छ । यही कारण राम्रो शारीरिक तयारी, पर्याप्त अनुकूलन र चिकित्सकीय सावधानी अत्यन्त आवश्यक हुन्छ ।
पूर्ण परिक्रमा गर्न नसक्ने धेरै श्रद्धालुहरू डेरापुकसम्म पुगेर कैलाशको प्रत्यक्ष दर्शन गरी फर्किन्छन् । धेरैका लागि त्यो मात्रै पनि जीवनको सबैभन्दा ठूलो आध्यात्मिक उपलब्धि हुन्छ ।

प्रकृति संरक्षणमा सिजाङको संवेदनशीलता
विश्वकै संवेदनशील हिमाली पर्यावरणमध्ये एक मानिने यस क्षेत्रको संरक्षणमा चीनको सिजाङ स्वायत्त प्रदेश सरकारले विशेष ध्यान दिँदै आएको छ ।
यात्रुहरूको संख्या व्यवस्थापन, फोहोर नियन्त्रण, पूर्वाधार विकास र वातावरणीय सन्तुलन कायम राख्ने नीति अपनाइएकाले कैलाश–मानसरोवरको प्राकृतिक सौन्दर्य आज पनि उल्लेखनीय रूपमा सुरक्षित देखिन्छ ।
यस पवित्र क्षेत्रलाई धार्मिक सम्पदा मात्र होइन, विश्व सम्पदाको रूपमा भावी पुस्ताका लागि सुरक्षित राख्ने प्रयास निरन्तर भइरहेको छ ।

जीवनकै अतुल्य अनुभव
आजको व्यस्त संसारमा मानिससँग सुविधा धेरै छन्, शान्ति कम छ । यही कारण कैलाश–मानसरोवरको यात्रा धार्मिक अनुष्ठानभन्दा पनि आत्मखोजको यात्राका रूपमा स्थापित हुँदै गएको छ । त्यहाँ पुग्ने मानिसले केवल हिमाल देख्दैनन् । केवल तालमा स्नान गर्दैनन् । उनीहरूले आफूलाई नयाँ दृष्टिले हेर्न सिक्छन् ।
हजारौं वर्षदेखि मानिसलाई आकर्षित गरिरहेको कैलाशको रहस्य आज पनि उस्तै छ । मानसरोवरको पानी आज पनि उस्तै शान्त छ । हिमालमाथि बिहानको पहिलो सूर्यकिरण आज पनि उस्तै दिव्य देखिन्छ ।
महामारीले केही समय यो यात्रालाई रोकेको थियो । तर आस्था कहिल्यै रोकिएन । आज फेरि कैलाश–मानसरोवरका बाटाहरू खुलेका छन् । फेरि श्रद्धालुहरू हिँडिरहेका छन् । फेरि हिमालले मानिसलाई बोलाइरहेको छ ।







फोटो सौजन्य : श्यामसुन्दर गौरो


















प्रतिक्रिया