काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई राजनीतिक संवाद र सत्य स्वीकार गर्ने साहस देखाउन आग्रह गर्दै आफू एक्लो नरहेको बताएकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहको सीमासम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसकी सांसद काउचालाई बोल्न समय दिएका थिए।
बैठकमा बोल्दै काउचाले प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत आफू एक्लै लडिरहेको अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै भनिन्, ‘कालो चस्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न।’
उनले मुलुकको हितमा प्रधानमन्त्रीले चाल्ने हरेक सकारात्मक कदममा प्रतिपक्षले साथ दिने स्पष्ट पारिन्। ‘प्रधानमन्त्रीजी नडराउनुहोस्, तपाईं एक्लो हुनुहुन्न । तपाईंको साथमा प्रतिपक्ष छ,’ उनले भनिन्।
काउचाले प्रधानमन्त्रीलाई सत्य स्वीकार गर्न र गल्ती भए सच्याउने राजनीतिक साहस देखाउन आग्रह गरिन्। राम्रा काममा प्रतिपक्षले सहयोग गर्ने तर गलत काममा खबरदारी गर्ने उनको भनाइ थियो।
प्रधानमन्त्री शाहको नेपालले पनि भारतको जमिन मिचेको भन्ने आशयको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै काउचाले उक्त भनाइ सच्याउन आग्रह गरिन्। सीमाजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने उनको जोड थियो।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसदहरूले समेत सरकारका केही विषयमा विरोध गर्न थालेको प्रसंग उल्लेख गर्दै उनले गलत कामको विरोध सत्तारुढ दलभित्रबाटै पनि हुनुपर्ने बताइन्। ‘गलत काममा खबरदारी गर्नुपर्छ। राम्रो काममा प्रतिपक्षको साथ रहन्छ,’ उनको भनाइ थियो।
काउचाले प्रधानमन्त्री शाह नयाँ पुस्ताको नेतृत्वको प्रतिनिधित्व गर्ने भएकाले आफूहरूको पनि उनीप्रति ठूलो आशा र अपेक्षा रहेको बताइन्। युवा प्रधानमन्त्रीलाई असफल हुने छुट नरहेको उल्लेख गर्दै उनले राजनीतिक संवादमार्फत अघि बढ्न आग्रह गरिन्।
उनले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनसमेत आग्रह गरिन्। प्रधानमन्त्री शाह सबै नेपालीको प्रधानमन्त्री भएकाले संसद्प्रति जवाफदेही हुनुपर्ने उनको भनाइ थियो।
‘सत्य स्वीकार गर्नुहोस् । गलत भएका छन् भन्ने सच्याउने साहस देखाउनुहोस्,’ काउचाले भनिन्।


















प्रतिक्रिया