२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

नेपाल-चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार



काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पुनः दोहोर्याएका छन ।

उनले नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध पञ्चशीलका सिद्धान्त, असल छिमेकीपन, पारस्परिक साझेदारी, सहकार्य, समानता र एकअर्काका भावना र संवेदनशीलताप्रतिको सम्मानमा आधारित रहेको बताए ।

नेपाल र चीनबीचको कूटनीतिक सम्बन्धको ७१ औँ वार्षिकोत्सव समारोह तथा २०२६ नेपाल-चीनमैत्री लघु भिडियो प्रतियोगिताको पुरस्कार वितरण समारोहका अवसरमा बिहीबार यहाँ आयोजित कार्यक्रममा बोल्दै परराष्ट्रसचिव राईले यो वार्षिकोत्सव ‘हाम्रो कूटनीतिक पात्रोको एउटा सिलसिलामात्र नभई चिरस्थायी सम्बन्धको प्रमाण हो’ भने ।

सात दशकको अवधिमा द्विपक्षीय सम्बन्ध, परम्परागत सम्बन्ध र सांस्कृतिक आदानप्रदानबाट साझा समृद्धिका लागि बृहत् साझेदारीसम्म विस्तार भएको परराष्ट्रसचिव राईले उल्लेख गरे ।

उनका अनुसार उच्चस्तरीय भ्रमणलगायत विभिन्न तहका आदानप्रदानले नेपाल-चीन सम्बन्धका सबै पक्षमा गतिशीलता र जीवन्तता भर्दै मित्रता बढाएका छन् । द्विपक्षीय सम्बन्धका साथै नेपाल र चीनले नियममा आधारित विश्वव्यापी व्यवस्थाका लागि बहुपक्षीयताप्रति दृढ प्रतिबद्धता जनाएको र साझा हितका विषयमा विभिन्न बहुपक्षीय मञ्चमा सहकार्य गर्दै आएको उनले उल्लेख गरे ।

एक असल मित्र र नजिकको छिमेकीका रूपमा चीनले हासिल गरेको अद्भूत आर्थिक विकासप्रति नेपालले गौरव गरेको र त्यसबाट सिक्न तथा फस्टाउँदो चिनियाँ अर्थतन्त्रसँग नेपालको आर्थिक सहकार्य पनि गहिरो बनाउन चाहेको उनले स्पष्ट पारे ।

विगत सात दशकमा नेपाल र चीनबीच व्यापार, लगानी, पूर्वाधार विकास, पर्यटन, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धमा व्यापक विस्तार भएको छ भन्दै सचिव राईले ट्रान्स-हिमालयन बहुआयामिक सम्पर्क सञ्जाल र यसको शीघ्र कार्यान्वयनलाई नेपालले महत्व दिने बताए ।

सो अवसरमा चिनियाँ राजदूत चाङ माओमिङले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि हालसम्म अन्तरराष्ट्रिय परिदृश्य जतिसुकै परिवर्तन भए पनि एकअर्कालाई सम्मान, विश्वास र समर्थन गर्दै आएको र सुखदुःखमा सँगसँगै उभिने असल छिमेकी, असल मित्र र असल साझेदार भएको धारणा राखे ।

नेपालमा नयाँ सरकार गठन भएदेखि नेपाल-चीनबीचको राजनीतिक पारस्परिक विश्वास गहन हुँदै गएको र उच्चस्तरीय ‘बेल्ट एन्ड रोड सहकार्य’ ठोस परिणामसहित अगाडि बढिरहेको चिनियाँ राजदूतको भनाइ छ ।

व्यापार तथा अर्थतन्त्र, पूर्वाधार, सम्पर्क-सञ्जाल, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलगायतका क्षेत्रमा नयाँ प्रगति हासिल भएको भन्दै राजदूत माओमिङले ठूलो सङ्ख्यामा चिनियाँ पर्यटक नेपालको अनुपम सुन्दरता हेर्न आइरहेको बताए । दुई देशका जनताबीचको यी सामान्य तर न्यानो आदानप्रदान नै आजको नेपाल-चीन सम्बन्धको वास्तविक जग भएको राजदूत माओमिङको कथन थियो ।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेको नेपालको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई ‘विकास र समृद्धिका लागि दीर्घकालीन रणनीतिक साझेदारी’को स्तरमा पुर्याएको राजदूत माओमिङले स्मरण गरे ।

राजदूत माओमिङले चीनले सधैँ शान्तिपूर्ण विकासको बाटो अवलम्बन गर्दै आएको तथा सबै देश उनीहरूको आकार, शक्ति वा जेसुकै आर्थिक अवस्थाजस्तो भए पनि एकअर्कालाई सम्मान, समान व्यवहार गर्नुपर्छ र शान्तिपूर्वक सहअस्तित्वमा रहनुपर्छ भन्ने मान्यता राख्दै आएको विचार व्यक्त गरे ।

उनले चीन नेपालसँग पारस्परिक सम्मान र पारस्परिक लाभमा आधारित भई दुई देशबीचको सम्बन्धलाई अझ अगाडि बढाउन, दुवै देशबीच भएका महत्त्वपूर्ण समझदारी कार्यान्वयन गर्न र नेपाल-चीनबीच साझा भविष्यको समुदाय निर्माणलाई अगाडि बढाउन तयार रहेको जानकारी गराए ।

राजदूत माओमिङले डिजिटल युगमा छोटा श्रव्यदृश्य सामग्रीले भाषा, दूरी र संस्कृतिका सीमाभन्दा माथि उठेर विषयवस्तुलाई केही सेकेन्डमै व्यापक दर्शकसमक्ष पुर्याउन सक्ने भन्दै खुसी व्यक्त गरे ।

यस वर्षको नेपाल-चीनमैत्री लघु भिडियो प्रतियोगितामा ठूलो सङ्ख्यामा भिडियोहरू प्राप्त भएका र प्रतिस्पर्धीहरूले नेपाल-चीन सम्बन्धका विविध आयाम र दुई देशका सुन्दर दृश्य समेटेकामा प्रशंसा गरे ।

श्रव्यदृश्य सामग्रीमा भावना र आत्मियता जोडिएको भन्दै उनले नेपाल-चीन सम्बन्ध केवल कूटनीतिक कागजातमा लेखिएको राजनीतिक सहमतिमात्र नभई दुई देशका जनताबीचको व्यापक सहकार्य, आदानप्रदान र भ्रमणमा पनि जीवित रहेको बताए ।

कार्यक्रममा नेपाल-चीनमैत्री लघु भिडियो प्रतियोगितामा विजयी प्रतिस्पर्धीलाई पुरस्कार वितरण तथा सम्मान गरिएको थियो । प्रतियोगितामा दिपेश स्याङ्दानले प्रथम पुरस्कार पुरस्कारसँगै रु ५० हजार प्राप्त गरेका थिए । सो अवसरमा विभिन्न राजनीतिक दलका नेता, कूटनीतिज्ञ, व्यवसायी तथा अन्य क्षेत्रका व्यक्तिको उपस्थिति थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ८ : १८ बजे

बरामद सबै सामग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बरामद गरेका सञ्चार

बाढीपहिरोले देशका विभिन्न स्थानका सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा

बाजुरा पहिरो अपडेट : बेपत्ता र घाइतेको पहिचान खुल्यो

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएका

खनिज क्षेत्रको राजस्व सङ्कलन खस्कियो

काठमाडौं । खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवन । चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र छ