काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले मुलुक यसअघि ‘नालायक’हरूबाट शासित रहेको भए पनि पछिल्लो राजनीतिक परिस्थितिले अब ‘लफङ्गा’हरूको हातमा पुगेको देखाएको टिप्पणी गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै भूसालले फागुन २१ गतेको राजनीतिक घटनाक्रमपछि आफूले गरेको टिप्पणी स्मरण गर्दै पछिल्लो चार-साढे चार महिनाको राजनीतिक गतिविधिले त्यही अवस्थालाई पुष्टि गर्दै लगेको बताए।
‘मैले फागुन २१ को दिन सबै साथीहरूलाई भेटेपछि निष्कर्ष निकालेको थिएँ – मुलुक नालायकहरूबाट त शासित छँदै थियो, अब लफङ्गाहरूबाट शासित हुने भयो,’ उनले भने, ‘त्यतिबेला मैले आफू गलत साबित हुन पाऊँ पनि भनेको थिएँ। तर, यहाँ साढे चार महिना जति बित्यो। आज जे देखिएको छ, त्यसले समाजमा अझ डरलाग्दो क्षति र थप राजनीतिक दुर्घटनाहरू घट्ने जोखिम बढाएको छ।’
भूसालले पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा कम्युनिस्ट दलहरूले व्यहोरेको पराजय अनपेक्षित र व्याख्या गर्न कठिन रहेको बताए। निर्वाचनमा कसरी पराजित भइयो भन्ने विषयमा समेत अहिलेसम्म स्पष्ट निष्कर्षमा पुग्न नसकेको उनको भनाइ थियो।
‘हामी यसरी हारेका छौँ कि कसरी हार्यौँ भनेर अहिलेसम्म पत्तो पाएका छैनौँ,’ उनले भने, ‘हामीलाई यसबारे कसैले प्रश्न नगरिदिए हुन्थ्यो, घरमा श्रीमती र छोराछोरीले पनि नसम्झाइदिए हुन्थ्यो जस्तो लागेको छ। यो त्यो तहको अनपेक्षित र कतिपय अवस्थामा व्याख्या नै गर्न नसकिने पराजय हो।’
कम्युनिस्ट आन्दोलनले निर्वाचनमा भोगेको पराजयलाई सामान्य घटनाका रूपमा नलिई त्यसको गम्भीर समीक्षा गर्नुपर्नेमा उनले जोड दिए। जनतामाझ पुनः सशक्त रूपमा प्रस्तुत हुनुअघि कम्युनिस्ट दलहरूले आफ्नो राजनीतिक दिशा, कार्यशैली र विगतका कमजोरीको समीक्षा गर्नुपर्ने उनको भनाइ छ।
भूसालले वर्तमान सरकार यही गतिमा अघि बढ्दै थप दुई वर्ष बिते मुलुकले गम्भीर संकटको सामना गर्नुपर्ने चेतावनीसमेत दिए। पछिल्लो राजनीतिक परिस्थितिले थप गम्भीर राजनीतिक दुर्घटनाको जोखिम बढाएको भन्दै उनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाए।
उनले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन र सुदृढीकरण गर्दै जनतासँगको सम्बन्ध बलियो बनाउनुपर्ने आवश्यकता औँल्याए। निर्वाचनमा भएको पराजयको कारण पहिल्याएर त्यसबाट पाठ सिक्न सके मात्रै कम्युनिस्ट आन्दोलनले नयाँ राजनीतिक आधार निर्माण गर्न सक्ने उनको भनाइ थियो।


















प्रतिक्रिया