काठमाडौं । नेपाल आयल निगमले आजदेखि ग्यास उद्योगले नियुक्त गरेका बिक्रेतामार्फत नियमित प्रक्रियाबाट खाना पकाउने एलपी ग्यास बिक्रीवितरण हुने जनाएको छ।
निगमले सूचना जारी गर्दै उपभोक्तालाई आफूलाई पायक पर्ने ग्यास बिक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न आग्रह गरेको छ।
ग्यास बिक्रीवितरणलाई थप व्यवस्थित बनाउन निगमले ग्यास उद्योगहरूलाई दैनिक बिक्री गर्ने बिक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र उपलब्ध सिलिन्डरको संख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ बजेसम्म निगमलाई उपलब्ध गराउन निर्देशन दिएको छ।
त्यस्तै, ग्यास बिक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम र सम्पर्क नम्बरसहितको विवरण दैनिक रूपमा तयार गरी अनिवार्य रूपमा सम्बन्धित उद्योगलाई बुझाउनुपर्नेछ। उद्योगले उक्त विवरण सोही दिन निगमलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
निगमले अत्यावश्यक घरायसी प्रयोजनका लागि ग्यास प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर बिक्रीवितरण गर्न उद्योग तथा बिक्रेतालाई निर्देशन दिएको छ।
ग्यास ढुवानी तथा वितरणका क्रममा आवश्यक सुरक्षा व्यवस्था र सहजीकरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयमार्फत अनुरोध गरिएको निगमले जनाएको छ।
यसैगरी, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग समन्वय गरी निगमबाट खटिएका जनशक्तिसहितको संयुक्त टोलीमार्फत ग्यास बिक्रीवितरणको प्रभावकारी अनुगमन गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ।
निगमका अनुसार दैनिक बिक्रीवितरणको विवरण संकलन र अनुगमनमार्फत ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई थप पारदर्शी र व्यवस्थित बनाउने उद्देश्य राखिएको छ।


















प्रतिक्रिया