दाङ। लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनाराण आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी पूरा भएकै दिन जनता समाजवादी पार्टी (जसपा), नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
नेकपा (एमाले) का नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन पार्टीले भदौ १ गतेदेखि लागू हुने गरी फिर्ता लिएको हो। आचार्यले आजै विश्वासको मत लिने कार्यसूची रहेको छ ।
जसपा नेपालका महासचिव डा. सुरेन्द्र कुमार झाद्वारा जसपा संसदीयदलका नेताका नाममा जारी पत्रमा समर्थन फिर्ता लिइएको जानकारी दिइएको छ। पत्र लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता सन्तोष कुमार पाण्डे तथा प्रदेश सभा सदस्यहरूलाई सम्बोधन गरी पठाइएको छ।
जसपा नेपालले मुख्यमन्त्री चेतनारायण आचार्यले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना प्रदेश सभा सदस्यहरूलाई निर्देशन पनि दिएको छ। पार्टीको निर्णयानुसार लुम्बिनी प्रदेश सभाका जसपा नेपालका सदस्यहरूलाई अनिवार्य रूपमा विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको महासचिव डा. झाले जनाएका छन्।
नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन ।
लुम्बिनी प्रदेश सभामा कुल ८३ जना प्रदेश सभा सदस्य छन् । सरकार गठनका लागि आवश्यक बहुमतका लागि ४२ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ ।



















प्रतिक्रिया