२ भदौ २०८३, मंगलबार | August 18, 2026

जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि



काठमाडौँ । नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बुढानिलकण्ठस्थित निवासमा ९३ वर्षको उमेरमा आइतबार राति निधन भएका श्रेष्ठको आज साँझ शोभाभगवतीमा अन्त्येष्टि गरिएको हो ।

श्रेष्ठको अन्त्येष्टिमा गृहमन्त्री सुधन गुरुङ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोललगायत विशिष्ट व्यक्तिले अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।

उनको पार्थिव शरीरलाई निवासबाट ढल्को, क्षेत्रपाटी, थहिटी, बाङ्गेमुढा, असन, जनबहाल, किलागल, नरदेवी हुँदै पुनः क्षेत्रपाटी, जोगीपाखा भएर शोभाभगवती लगिएको थियो । सो क्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति, साहित्यकार, कलाकार, संस्कृतिकर्मी, शुभेच्छुक तथा सर्वसाधारणले उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

श्रेष्ठको निधनसँगै नेपाली साहित्यले एउटा कविमात्र नभई नेपाल र नेपाली भाषाबीच साहित्यिक सेतु निर्माण गर्ने एउटा सशक्त स्रष्टालाई गुमाएको छ । उनले करिब सात दशकदेखि कविता, गीत, बालसाहित्य, नाटक तथा नेपाल भाषाको प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएका थिए । मदन पुरस्कार गुठीले उनलाई नेपाल भाषा र नेपाली भाषामा सुमधुर गीत, कविता, काव्य तथा बालसाहित्य सिर्जना गर्दै नेपाली वाङ्मयमा योगदान पुर्‍याएकामा ‘जगदम्बा-श्री’बाट सम्मान गरेको थियो ।

विसं १९९२ मा काठमाडौँको न्हैकन्तला टोलमा जन्मिएका श्रेष्ठको प्रारम्भिक शिक्षा पद्मोदय माध्यमिक विद्यालयबाट भएको थियो । किशोर अवस्थादेखि साहित्यमा आकर्षित श्रेष्ठले विसं २००६ देखि लेखन सुरु गरेका थिए । उनको पहिलो कविता ‘दुई थोपा’ विसं २००९ मा ‘सुस्केरा’ पत्रिकामा प्रकाशित भएको थियो ।

यसैबीच, सङ्गीतकार न्ह्यूँ बज्राचार्यले जनकवि श्रेष्ठको निधन नेपाली साहित्य तथा गीतसङ्गीत क्षेत्रका लागि अपूरणीय क्षति भएको बताएका छन् । उनका अनुसार श्रेष्ठका सिर्जनाले नेपाली गीतसङ्गीतलाई समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । श्रेष्ठका शब्दमा रहेका सरलता, गहिराइ र मानवीय संवेदनाले पुस्तौँपुस्तासम्म प्रभाव पार्ने क्षमता राख्ने उनले बताए ।

श्रेष्ठ ‘सयौँ थरी बाजा एउटै ताल’, ‘फूलको आँखामा फूलै संसार’ लगायत कालजयी तथा चर्चित गीतका सर्जक हुन् ।

प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार  ९ : ५१ बजे

जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ । नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ

काठमाडौँ । केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का

कांग्रेस १५औँ महाधिवेशन : वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन भदौ २४

मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यु नियन्त्रण गर्नुहोस् : वर्षमान पुन

काठमाडौं । प्रतिनिधिसभामा सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रण गर्नुपर्ने

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति