६ भदौ २०८३, शनिबार | August 22, 2026

ओलीको दाबी – बालेन्द्र सरकार पाँच वर्ष टिक्दैन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार पाँच वर्ष नटिक्ने दाबी गरेका छन्। उनले सरकार विदेशी शक्तिको आडभरोसामा चलेको आरोप लगाउँदै आफूहरू त्यस्ता शक्तिसँग नडराउने बताएका छन्।

शनिबार भक्तपुरको नगरकोटमा आयोजित एमालेको ‘जनसंगठन समन्वय संयन्त्र कार्यशाला’लाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारले विभिन्न माध्यमबाट बहुमत ल्याएको देखाइए पनि त्यसका आधारमा सरकार पाँच वर्ष टिक्न नसक्ने दाबी गरे।

“हाटहुट, लाटलुट, जनतालाई तर्साएर, थर्काएर, बोल्न नसक्ने बनाएर, जेसुकै गरेर, बाकस साटेर ल्याएर बहुमत ल्याएको देखाइयो,” ओलीले भने, “यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन।”

ओलीले वर्तमान सरकारले जनतामा डर, त्रास र आतंक सिर्जना गरिरहेको आरोप पनि लगाए। सरकार गठन भएकै दिन आफूलाई गिरफ्तार गरेर सर्वसाधारणलाई समेत त्रसित बनाउने सन्देश दिन खोजिएको उनको दाबी थियो।

“सरकार बनेको दिन पहिलो निर्णय केपी ओलीलाई समाउने भन्ने गरेर रातभर लगाएर बिहानपख गिरफ्तार गर्‍यो,” उनले भने। आफू यसअघि पनि विभिन्न राजनीतिक संघर्षमा जेल तथा गिरफ्तारी भोगिसकेको उल्लेख गर्दै ओलीले वर्तमान सरकारसँग आफू नडराउने बताए।

उनले वर्तमान सरकारलाई व्यंग्य गर्दै ‘बारुला’को संज्ञासमेत दिए। “केपी ओलीलाई त समाइयो, अरूलाई के हो र भनेर थर्कमान गराउन मलाई समाइयो,” ओलीले भने, “यी बारुलासँग डराएर हामीले देश सधैं यिनीहरूका जिम्मा लगाउन सकिँदैन।”

ओलीले सरकारले राजनीतिक असहमति राख्ने तथा आफूलाई मन नपरेका व्यक्तिलाई विभिन्न तरिकाबाट दबाबमा पार्न खोजेको आरोप लगाए। कसैलाई जेल हाल्ने, बदनाम गर्ने, सम्पत्ति जफत गर्ने, बैंक खाता रोक्का गर्ने तथा व्यवसायीको कारोबार अवरुद्ध गर्ने जस्ता गतिविधिबाट जनतामा त्रास सिर्जना गरिएको उनको दाबी थियो।

उनका अनुसार कारोबार रोकिँदा व्यवसायी आर्थिक संकटमा पर्ने, बैंकको ऋण बढ्दै जाने, मजदुरले पारिश्रमिक माग्ने र व्यवसाय सञ्चालन गर्न लिएको घरभाडासमेत तिर्न नसक्ने अवस्था आउन सक्छ। यस्तो अवस्थामार्फत मानिसलाई आर्थिक रूपमा कमजोर बनाएर विस्थापित गर्ने षड्यन्त्र भइरहेको ओलीको आरोप थियो।

सामाजिक सञ्जालमा समेत सरकार समर्थक समूहबाट आलोचकलाई आक्रमण भइरहेको उनले बताए। “हरेकको मनमा त्रास छ। एउटा स्टाटस लेख्नुस् त, कति गाली आउँछ, त्रास छ,” ओलीले भने, “सही स्टाटस लेख्नुस्, सही कुरा बोल्नै हुँदैन। हुल्याहाहरूको आक्रमण सुरु भइहाल्छ।”

ओलीले सत्यका पक्षमा, जनताको पक्षमा र जनजीविकाका सवालमा बोल्न एमालेका नेता–कार्यकर्तालाई निर्देशन दिए। उनले अहिले संविधान मिचिएको र लोकतन्त्र अपहरित भएको दाबी गर्दै लोकतन्त्र र संविधानलाई पुनः सही बाटोमा ल्याउनुपर्ने बताए।

“प्रतिगमनबाट देश फर्काउनू, प्रतिगमनकारीहरूलाई पराजित गर्नू, अपहरित लोकतन्त्र फिर्ता ल्याउनू, मिचिएको संविधानलाई मिच्न नदिनू र फेरि ल्याउनू,” ओलीले भने, “सुशासन र विकासको बाटोमा फेरि देशलाई ट्र्याकमा ल्याउनू हो।”

एमाले बागमती प्रदेश जनसम्पर्क समन्वय संयन्त्रको आयोजनामा

प्रकाशित मिति : ६ भदौ २०८३, शनिबार  ४ : ४४ बजे

स्वेजको विकल्प बन्दै नर्दन सी रुट ‘आर्कटिक मार्ग’, व्यावसायिक चुनौती कायमै

पेरिस । खाडी क्षेत्रमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

धनगढी । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

चितवनको खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन । जिल्लाको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज

ओलीको दाबी – बालेन्द्र सरकार पाँच वर्ष टिक्दैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी