काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गर्दा रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो क्षति पुगेको छ ।
बुधबार बिहान करिब ९ बजेको समयमा आएको बाढीले टिमुरे बजार तथा आसपासका बस्ती र भन्सार कार्यालय क्षेत्रमा क्षति पुर्याएको हो ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार अचानक आएको बाढीले टिमुरे बजारको बस्ती क्षेत्रमा समेत क्षति पुर्याएको छ । क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार गोसाइँकुण्ड गाउँपालिका–२ को टिमुरे र वडा नम्बर ५ को स्याफ्रुबेँसी क्षेत्रमा बाढीले ठूलो क्षति गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
‘भोटेकोशीमा चिनियाँ क्षेत्रबाट ठूलो बाढी आएको छ । टिमुरे र स्याफ्रुबेँसीमा धेरै ठूलो क्षति भएको देखिन्छ,’ अधिकारीले बताएका छन् ।
भन्सार विभागका महानिर्देशक खेमलाल भुसालका अनुसार टिमुरे क्षेत्रमा बाढी आएको जानकारी त्यहाँ कार्यरत कर्मचारीले बिहान करिब ८ बजे दिएका थिए । घटनापछि केही कर्मचारी सम्पर्कमा आए पनि अन्य कर्मचारीसँग सम्पर्क हुन नसकेको उनले बताए ।
‘६–७ जना सम्पर्कमा हुनुहुन्छ । अरू फोन पनि लागेको छैन,’ भुसालले भने ।
बाढीको बहाव अत्यन्त ठूलो र अप्रत्याशित रहेको अधिकारीले बताएका छन् । उनले नुवाकोट र धादिङ प्रशासनलाई समेत घटनाबारे जानकारी गराइसकिएको बताए ।
यसैबीच, बाढी नुवाकोटतर्फ समेत प्रवेश गरिसकेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । प्रशासनका सूचना अधिकारी रूपेशप्रसाद नेपालका अनुसार बाढीको क्षतिबारे तत्काल यकिन विवरण प्राप्त भइसकेको छैन ।
नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गर्दै उद्धार तथा राहतका लागि आवश्यक तयारी भइरहेको प्रशासनले जनाएको छ । यसका लागि जिल्ला समन्वय समितिको बैठकसमेत बसिरहेको छ ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
गृहमन्त्रीको सचिवालयका अनुसार अर्को सूचना जारी नभएसम्म भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्र, मुग्लिनसम्म, उच्च जोखिममा रहेकाले उक्त क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।
खोज तथा उद्धार आवश्यक परे वा कुनै प्रकारको सहायता आवश्यक भएमा टोल फ्रि नम्बर १२३४ मा तत्काल सम्पर्क गर्नसमेत आग्रह गरिएको छ ।
त्यसैगरी, सम्भावित जोखिमलाई ध्यानमा राख्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न र ती सडकमा आवतजावत पूर्ण रूपमा रोक्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।
बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन तथा खोज तथा उद्धारको काम भइरहेको सम्बन्धित निकायले जनाएका छन् ।

















प्रतिक्रिया