काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका कारण रसुवा र नुवाकोटसहित आसपासका जिल्लाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको सरकारले जनाएको छ।
प्रतिनिधि सभाको बैठकमा सरकारका तर्फबाट जानकारी दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले बिहान करिब ८ बजेर ४० मिनेटमा भोटेकोशी नदीमा ठूलो बाढी आएको बताए। बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेसी तथा नुवाकोटको त्रिशूली, बेत्रावती र बट्टारलगायत क्षेत्रमा क्षति पुगेको उनले जानकारी दिए। धादिङलगायतका क्षेत्रमा समेत बाढीको असर परेको उनले बताए।
मन्त्री खनालका अनुसार बिहान ८ बजेर ३७ मिनेटमा तिब्बती क्षेत्रमा भूकम्प गएको र त्यसपछि हिमपहिरो झरेका कारण भोटेकोशीमा बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना सरकारलाई प्राप्त भएको छ। यद्यपि उक्त सूचनाको थप पुष्टि गर्न बाँकी रहेको उनले स्पष्ट पारे।
“प्रारम्भिक सूचना अनुसार ८ बजेर ३७ मिनेटमा त्यो क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिमपहिरो झरेका कारण बाढी आएको भन्ने सूचना आएको छ,” मन्त्री खनालले संसद्मा भने, “त्यसलाई थप भेरिफाइ गर्नुपर्ने आवश्यकता देखिन्छ।”
उनले बाढीमा परी केही नेपाली नागरिकले ज्यान गुमाइसकेको सूचना सरकारलाई प्राप्त भएको पनि जानकारी दिए। घटनामा भएको मानवीय तथा भौतिक क्षतिको थप विवरण संकलन भइरहेको उनको भनाइ छ।
मन्त्री खनालले विपद्को अवस्थालाई सम्बोधन गर्न प्रधानमन्त्री बालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएको जानकारी दिए। मन्त्रिपरिषद्को आकस्मिक बैठकसमेत बसेर आवश्यक निर्णय गरिएको उनले बताए।
प्रधानमन्त्री शाहले विपद्को यस क्षणमा सबैलाई आ–आफ्नो ठाउँबाट बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यमा खटिन आग्रह गरेको पनि मन्त्री खनालले संसद्लाई जानकारी गराए।

















प्रतिक्रिया