११ भदौ २०८३, बिहिबार | August 27, 2026

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्



बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा बुधबार हिमनदी खसेपछि आएको भीषण आकस्मिक बाढीमा कम्तीमा २७० जनाको मृत्यु भएको छ। अधिकारीहरूले थप मानवीय क्षति हुनसक्ने आशंका गरेका छन्।

इतिहासमा भएका सबैभन्दा घातक हिमनदीजन्य विपद्हरूमध्ये केही यस्ता छन् :

९४१ : हुआराज, पेरु

उत्तरी पेरुको उच्च एन्डिज क्षेत्रमा हिमताल फुटेर आएको बाढीले हुआराज सहरको करिब एकतिहाइ भाग ध्वस्त बनाएको थियो। घटनामा अनुमानित ५ हजार मानिसको मृत्यु भएको थियो। यो इतिहासमा अभिलेखित सबैभन्दा घातक हिमताल विस्फोटजन्य बाढीमध्ये एक हो।

१९६२ : रानराहिरका, पेरु

पेरुको सबैभन्दा अग्लो हिमाल माउन्ट हुआस्कारानबाट ठूलो बरफको चट्टान खसेपछि करिब १ करोड घनमिटर ढुंगा, बरफ र हिउँ जम्मा सात मिनेटमा पहाडबाट तल खसेको थियो।

यसले रानराहिरका गाउँसहित आसपासका बस्तीलाई करिब १२ मिटर गहिरो हिलो र भग्नावशेषले पुरेको थियो। घटनामा अनुमानित ४ हजार मानिसको मृत्यु भएको थियो।

१९७० : युङ्गे, पेरु

७।९ म्याग्निच्युडको भूकम्पले माउन्ट हुआस्कारानको उत्तरी भाग अस्थिर बनाएपछि इतिहासकै सबैभन्दा घातक हिमनदीसम्बन्धी विपद् भएको थियो।

हिमनदीको बरफ र चट्टानसहितको विशाल पहिरो ३३५ किलोमिटर प्रतिघण्टासम्मको गतिमा युङ्गे र रानराहिरका सहरतर्फ खसेको थियो। त्यसले दुवै बस्तीलाई हिलो र भग्नावशेषले पुरेको थियो।

हिमपहिरोमा मात्रै अनुमानित २५ हजार मानिसको मृत्यु भएको थियो। भूकम्पका कारण भएको समग्र मानवीय क्षति ५० हजारभन्दा बढी थियो।

१९८१ : चिरेनमा को, तिब्बत

चीन–नेपाल सीमाबाट करिब १४ किलोमिटर टाढा रहेको हिमताल चिरेनमा कोमा झुन्डिएको हिमनदीको ठूलो भाग खसेपछि विशाल छाल उत्पन्न भएको थियो। त्यसले हिमताललाई थामिरहेको मोरेन बाँध नाघेको थियो।

त्यसपछि करिब २ करोड घनमिटर पानी, बरफ र भग्नावशेष नेपालतर्फ तीव्र गतिमा बगेको थियो।

घटनामा नेपालमा अनुमानित २०० जनाको मृत्यु भएको थियो भने पुल, सडक, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा ४० लाख अमेरिकी डलरसम्मको क्षति पुगेको थियो।

२०२१ : चमोली, भारत

भारतको दोस्रो अग्लो हिमाल नन्दा देवी नजिकैको रोन्ती चुचुरोबाट बरफको ठूलो हिस्सा खसेपछि करिब १ हजार ५०० मिटर तल उपत्यकातर्फ चट्टान, धुलो र बरफसहितको विनाशकारी भेल आएको थियो।

यसले उत्तरी भारतीय राज्य उत्तराखण्डमा ठूलो आकस्मिक बाढी निम्त्याएको थियो। बाढीमा २०० भन्दा बढी मानिसको मृत्यु भएको थियो। गाउँहरू ध्वस्त भएका थिए भने दुईवटा जलविद्युत् आयोजना बाढीले बगाएको थियो।

२०२६ : नेपाल–तिब्बत सीमा

हिमालयमा रहेको हिमनदीको तल्लो भाग खसेर उपत्यकाको सतहमा बजारिएपछि नेपाल र तिब्बतमा १ हजारभन्दा बढी मानिस बेपत्ता भएका छन्।

बरफ र चट्टानसहितको विशाल हिमपहिरो हिमाली सीमाक्षेत्र हुँदै ल्हेन्दे खोला नदीतर्फ खसेपछि त्यसले तीव्र गतिमा आकस्मिक बाढी निम्त्याएको थियो।

पहिरो तिब्बतको केरुङ बन्दरगाह क्षेत्रमा पुगेपछि नेपालतर्फ समेत बगेको थियो। त्यस क्रममा तीव्र गतिको बाढीले सडक तथा जलविद्युत् आयोजनालगायतका पूर्वाधार बगाउनुका साथै विभिन्न बस्ती डुबानमा पारेको छ।

प्रहरीले मृतकको संख्या २७० (यो भन्दा बढी तथ्यांक आइसकेको छ) भन्दा माथि पुग्नसक्ने अनुमान गरेको छ।

-रोयटर्स

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  ९ : २५ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि