काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो संस्करणअन्तर्गत नेपालले आज आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘ए’ को आफ्नो दोस्रो खेलमा नेपालले मलेसियाको सामना गर्न लागेको हो ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । उक्त जितपछि उच्च मनोबलमा रहेको नेपाली टोली मलेसियाविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा छ । नेपाल र मलेसियाबीचको खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी-यूकेएम क्रिकेट ओभलमा बिहान ७ः१५ बजे सुरु हुनेछ ।
नेपाल प्रतियोगिताका १० टोलीलाई पछि पार्दै उपाधि जितेर सन् २०२७ मा हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रिएको हो । प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा बहराइन, हङकङ, मलेसिया र साउदी अरेबियासँगै छ । समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, ओमान, कतार र सिङ्गापुर छन् ।
नेपाल र मलेसियाबीच पछिल्ला अभ्यास खेलमा पनि नेपालले राम्रो प्रदर्शन गरेको थियो । हालै भएका दुई अभ्यास खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो ।
समूह चरणको तेस्रो खेल नेपालले भदौ २१ गते साउदी अरेबियासँग तथा अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्ने तालिका छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् भने प्रतियोगिताको विजेताले सन् २०२७ को एसिया कपमा सिधै स्थान बनाउनेछ ।
















प्रतिक्रिया