२२ भदौ २०८३, सोमबार | September 7, 2026

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग



सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११ घण्टासम्म पनि काम गर्छु । कामअनुसार पारिश्रमिक पाइन्छ । वराहक्षेत्र नगरपालिका-५ की बबिता बस्नेत भन्छिन, “प्लाइ उद्योग स्थापना भएदेखि नै यहाँ काम गर्दै आएकी छु ।”

उद्योगले गाउँमै रोजगारी दिएपछि परिवारको आर्थिक आवश्यकता पूरा गर्न सहज भएको उनी बताउँछिन । “यहाँ आएर काठका पाता बोक्ने, टिप्ने, सुकाउने तथा गाडीमा सामान राख्ने तथा झार्ने काम गर्छु । यहाँबाट कमाएको पैसाले घरपरिवारको दैनिक खर्च तथा बालबालिकाको खाजा खर्च जुटाउन सहयोग पुगेको छ”, उनले भनिन ।

जितमाया श्रेष्ठ र सुरेश साहको संयुक्त लगानीमा भेनियर उत्पादनसँगै गाउँमै रोजगारी बढाउने उद्देश्यले २०८१ साल माघमा स्थापना गरिएको प्लाइउड उद्योगले २०८२ वैशाखदेखि व्यावसायिक उत्पादन सुरु गरेको हो ।

उद्योगका व्यवस्थापन तथा लेखा प्रमुख दीपक रानामगरका अनुसार, स्थानीय रोजगारीका लागि उद्योग प्रभावकारी देखिएको छ । वराहक्षेत्र–५ कालाबन्जरमा ७२ कट्ठा जग्गा लिजमा लिएर रु एक करोड ५० लाख बराबरको लगानीमा सञ्चालित उद्योगमा हाल वराहक्षेत्रका ६० देखि ६५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

उद्योगमा अधिकांश श्रमिक महिला छन् । स्थानीयस्तरमा पुरुष श्रमिक पाउन कठिनाइ भएपछि महिलाको सङ्ख्या बढी रहेको मगरले बताए । उद्योगले दैनिक ८० हजारदेखि एक लाख स्क्वायरफिटसम्म भेनियर उत्पादन गर्दै आएको छ ।

श्रमिक रोशन चौधरी भन्छन, “गाउँमै उद्योग खुलेपछि रोजगारीका लागि बाहिर जानुपर्ने बाध्यता कम भएको छ । यहीँ बसेर काम गर्न पाउँदा परिवारसँगै बस्न पाइएको छ । यहीँबाट कमाएको आम्दानीले घरखर्च चलाउन सहयोग पुगेको छ ।”

श्रमिकलाई कामअनुसार प्रतिघण्टाका दरले पारिश्रमिक दिने गरिएको छ । उत्पादन सुरु गर्दा दक्ष प्राविधिक जनशक्तिको अभाव भएपछि भारतबाट प्राविधिक ल्याएर मेसिन सञ्चालन गर्नुपरेको मगरले बताए । “अहिले नेपाली श्रमिकले पनि मेसिन सञ्चालनलगायतका काम सिक्दै गएकाले सहज भएको छ, हाम्रो चाहाना यहीँका स्थानीयलाई रोजगार दिन सकौ भन्ने हो”, मगरले भने ।

उद्योगले भेनियर उत्पादनका लागि उत्तिस, कटुस र केही चिलाउने जातका गोलिया काठ प्रयोग गर्दै आएको छ । आवश्यक काठमध्ये अधिकांश तेह्रथुमबाट ल्याइन्छ भने खोटाङ, भोजपुरलगायत पहाडी जिल्लाबाट पनि काठ ल्याउने गरिएको मगरले जानकारी दिए ।

गोलिया काठलाई मेसिनमार्फत पातलो तहमा काटेर भेनियर तयार गरिन्छ । तयार भेनियर इटहरी, इनरुवा, झापा, नेपालगन्ज र कोहलपुरलगायतका प्लाइउड उद्योगमा बिक्री हुँदै आएको छ । भारतको उत्तर प्रदेश, राजस्थान र सिलीगुडीसम्म पनि भेनियर पठाउने गरिएको मगरले बताए ।

उद्योगले हाल वार्षिक रु पाँच करोड बराबर कारोबार गर्दै आएको छ । भेनियर उत्पादनका क्रममा निस्कने दाउरा, काठका टुक्रा तथा अन्य खेर जाने सामग्री बिक्री गरेर उद्योगले थप आम्दानी गर्दै आएको छ ।

ठूला दाउरा एक ट्रकको रु पाँच हजारसम्ममा बिक्री हुने गरेको छ । यस्तै साना तथा सडेर जाने प्रकृतिका काठका टुक्रा प्रतिकिलो रु तीनदेखि पाँचसम्म बिक्री हुने गरेको उद्योगले जनाएको छ ।

प्रकाशित मिति : २२ भदौ २०८३, सोमबार  ८ : ३९ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११