२८ भदौ २०८३, आइतबार | September 13, 2026

आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा



कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-८ का युवाले आफ्नो गाउँ आफैँ सफा र व्यवस्थित बनाउन सरसफाइ अभियान सुरु गरेका छन् । सरसफाइ, सडक व्यवस्थापनलगायत कामका लागि सरकारकै भर पर्नुपर्ने सोच भइरहेका बेला यहाँका युवा भने सार्वजनिक सडक तथा आसपासको क्षेत्र सफा गर्न आफैँ जुटेका हुन् । केही दिनअघिदेखि वडाका विभिन्न क्षेत्र सरसफाइ गर्न सुरु गरिएको छ ।

एकता युवा क्लबको अगुवाइमा स्थानीय युवा, भलमन्सा, बुद्धिजीवी तथा अन्य स्थानीयवासीको सहभागितामा सडक छेउछाउको सरसफाइ सुरु गरिएको हो । सडक छेउछाउमा झाडी बढ्नुका साथै फोहर जम्मा हुने र सडकमा फैलिएका रूखका हाँगाका कारण आवतजावतमा समस्या हुनुका साथै बिजुलीका तारमा समेत असर पर्न थालेपछि अभियान सञ्चालन गरिएको क्लबका अध्यक्ष अर्जुन पोख्रेलले जानकारी दिए । अभियानका क्रममा सडक छेउमा रहेका अनावश्यक रूखका हाँगा काट्नुका साथै झाडी र फोहर सफा गरिएको छ ।

क्लबका अध्यक्ष पोखरेलले आफ्नो गाउँलाई सफा, सुन्दर र व्यवस्थित बनाउन युवाको नेतृत्वमा अभियान सुरु गरिएको बताए । गाउँभरिका युवालाई सहभागी गराएर सार्वजनिक स्थानको सरसफाइसँगै स्थानीयवासीमा समेत आफ्नो ठाउँ आफैँ सफा राख्नुपर्छ भन्ने भावना विकास गराउने उद्देश्य रहेको उनले बताए ।

“सार्वजनिक ठाउँ सफा राख्ने जिम्मेवारी सरकारको मात्र होइन, हामी नागरिकको पनि हो”, उनले भने, “आफ्नो गाउँ आफैँ सफा र व्यवस्थित बनाउन सकिन्छ भन्ने सन्देश दिन युवाको अगुवाइमा अभियान सुरु गरेका हौँ ।”

सरसफाइमा सहभागी स्थानीय भीमबहादुर बुढाले सडकमा गाईगोरु छाडा छाडिने, सडक छेउछाउमा झाडी तथा रुख बढ्दा यातायात व्यवसायी तथा अटोचालकलाई समेत समस्या हुने गरेको बताए । सबै मिलेर यस्ता समस्या समाधान गर्न आवश्यक रहेकाले आफू पनि सरसफाइ अभियानमा जुटेको उनले बताए ।

बुढाका अनुसार अभियानअन्तर्गत शनिबार वडा नं ८ को दिपनगरमा सडक क्षेत्रको सरसफाइ गरिएको छ । आगामी दिनमा शिवपुरतर्फको सडक क्षेत्रलाई समेत अभियानमार्फत सफा गर्ने योजना रहेको उनले जानकारी दिए । उनले सडक तथा सार्वजनिक स्थानमा फोहर नफाल्न र सडक छेउछाउ व्यवस्थित राख्न स्थानीयवासीलाई आग्रह गरे । सडक सरसफाइ अभियानमा वडा नं ८ का स्थानीय युवा, महिला, ज्येष्ठ नागरिक तथा अन्य स्थानीयवासीको समेत सहभागिता रहेको छ ।

प्रकाशित मिति : २८ भदौ २०८३, आइतबार  ८ : ०६ बजे

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत

सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम । “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब