काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा निधन भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चालकको सोमबार राति नै निधन भएको प्रहरी स्रोतले जनाएको छ। अस्पतालका अनुसार आगलागीमा चालकको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो ।
सोमबार मध्याह्न त्रिपुरेश्वरचोकस्थित बस स्टपमा रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा अचानक आगलागी भएको थियो । आगलागीमा परी चालक गम्भीर घाइते भएका थिए । उनलाई दिउँसो करिब १ बजे उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याइएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालक स्वयंले बसमा आगो लगाएको देखिएको छ । घटना हुनुअघि चालकको ट्राफिक प्रहरीसँग विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।
घटनाको वास्तविक कारण तथा आगलागीको परिस्थितिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको छानबिनका लागि समिति गठन भइसकेको छ ।
















प्रतिक्रिया