पाल्पा । पाल्पामा लगातारको वर्षाका कारण पहिरो जाँदा दुई घर पुरिएका छन् । पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आइतबार बिहान करिब ४ः३० बजे माथागढी गाउँपालिका-३ भसकट्टास्थित लिलबहादुर घर्ती मगरको घरमा पहिरो खसेर घर पुरिएको हो । पहिरोमा परी घरधनी ७५ वर्षीय लिलबहादुर घर्ती मगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती मगर बेपत्ता भएका छन् ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा खटिएर बेपत्ताको खोज तथा उद्धार कार्य गरिरहेको प्रहरीले जनाएको छ ।
यसैगरी, आइतबार बिहान करिब २ः३० बजे माथागढी गाउँपालिका-२ रक्सेमा घरमाथिबाट बारीको ढिस्को खस्दा ७५ वर्षीय शेरबहादुर चिडी मगरको घर पुरिएको थियो । पहिरोमा परी घाइते भएका चिडी मगरलाई प्रहरी टोलीले उद्धार गरी स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल पाल्पा ल्याएको थियो ।
तर, उपचारका क्रममा बिहान ९ः०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । लगातारको वर्षासँगै पाल्पाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेकाले स्थानीयलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।
















प्रतिक्रिया