काठमाडौं । नेपालबाट यस वर्षको मनसुन बाहिरिने औसत मिति आज अर्थात् अक्टोबर २ (असोज १६) परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यो मनसुन बाहिरिने औसत मिति भएकाले वास्तविक रूपमा मनसुन केही दिनअघि वा पछि बाहिरिन सक्नेछ ।
मौसमविद् रोजन लामिछानेका अनुसार मनसुन देशबाट एकैपटक बाहिरिने छैन । पश्चिमी भूभागबाट क्रमशः हट्दै पूर्वतर्फ सर्दै जाने र अन्ततः पूर्वी प्रदेशबाट पूर्ण रूपमा बाहिरिनेछ ।
महाशाखाले हाल मनसुनको अवस्थाबारे सूक्ष्म रूपमा अनुगमन गरिरहेको जनाएको छ । मनसुन बाहिरिने अवस्थाको विश्लेषणपछि चाँडै औपचारिक बुलेटिन जारी गर्ने तयारीसमेत भइरहेको महाशाखाले जनाएको छ ।
यस वर्ष औसत मिति जुन १३ भन्दा ६ दिन ढिला गरी जुन १९ (असार ५) मा नेपाल प्रवेश गरेको मनसुन जुन ३० मा देशभर फैलिएको थियो ।
मनसुन बाहिरिएपछि नेपालमा अक्टोबर र नोभेम्बर दुई महिना ‘पोस्ट-मनसुन’ अवधि रहनेछ । त्यसपछि डिसेम्बरदेखि हिउँद अर्थात् जाडोयाम सुरु हुनेछ ।
















प्रतिक्रिया