६ मंसिर २०८३, आइतबार | November 22, 2026

त्रिविको बजेट – ३० अर्ब ८७ करोड, सरकारको अनुदान घट्दा ८ अर्बभन्दा बढी अपुग



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ९.७७ प्रतिशतले बढी हो ।

त्रिविले बिहीबार नीति तथा कार्यक्रमसहित आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेको हो । गत आर्थिक वर्ष २०८२/८३ मा त्रिविको बजेट २८ अर्ब १२ करोड ५७ लाख २१ हजार रुपैयाँ थियो ।

त्रिविका रजिस्ट्रार रबिन्द्र शिवाकोटीका अनुसार प्रस्तावित बजेटलाई नियमित कार्यक्रम, आन्तरिक कार्यक्रम र विकास कार्यक्रमका रूपमा प्रस्तुत गरिएको छ ।

कुल बजेटमध्ये त्रिविको आन्तरिक स्रोतबाट १५ अर्ब २४ करोड २७ लाख ५ हजार रुपैयाँ अर्थात् ४९.३८ प्रतिशत र नेपाल सरकारबाट १५ अर्ब ६२ करोड ८४ लाख ३ हजार रुपैयाँ अर्थात् ५०.६२ प्रतिशत व्यहोर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै, कुल बजेटको ८६.१४ प्रतिशत अर्थात् अधिकांश रकम सञ्चालन खर्चतर्फ र १३.८६ प्रतिशत पुँजीगत खर्चतर्फ विनियोजन गर्ने प्रक्षेपण गरिएको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि त्रिविलाई ७ अर्ब ३१ करोड ६ लाख ५६ हजार रुपैयाँ अनुदान विनियोजन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ४ अर्ब ८० करोड रुपैयाँ कम हो ।

सरकारबाट प्राप्त हुने अनुदान घट्नुका साथै राष्ट्रसेवक शिक्षक तथा कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि र वृद्धि भएको रकममा थप १० प्रतिशत प्रोत्साहन भत्ताको दायित्वसमेत थपिएपछि त्रिविलाई ८ अर्ब ३१ करोड ७७ लाख ४७ हजार रुपैयाँ अपुग हुने देखिएको रजिस्ट्रार शिवाकोटीले जानकारी दिए ।

उनका अनुसार अपुग रकम नेपाल सरकारबाट प्राप्त हुन नसके त्रिविले अनिवार्य दायित्वअन्तर्गतका खर्चसमेत धान्न कठिन हुने अवस्था छ ।

अनिवार्य दायित्वअन्तर्गत आवश्यक रकम व्यवस्था गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी गराउँदै शिवाकोटीले अपुग रकमको व्यवस्था गरिदिन प्रधानमन्त्री एवं त्रिविका कुलपति समक्ष अनुरोध गरेका छन् ।

यस वर्ष त्रिविले विगतको तुलनामा ढिला गरी बजेट सार्वजनिक गरेको हो । त्रिविले सामान्यतः साउनमै बजेट ल्याउने गरेको भए पनि यसपटक सिनेटर नियुक्ति हुन नसक्दा बजेट ल्याउन ढिलाइ भएको जनाइएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  १२ : ०३ बजे

Your email address will not be published.

प्रधानमन्त्री शाह नयाँदिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत

नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारतको

प्रधानमन्त्री बालेन भारत प्रस्थान, लिएनन् सम्मान गारद

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन भारत प्रस्थान गरेका छन् ।

सामान्य रूपमा नयाँ दिल्ली प्रस्थान गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आइतबार दिउँसो दुई दिने

कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

मुस्ताङ । नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

काठमाडौं, ६ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले