काठमाडौं । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ह्याट्रिकसहित ६ विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्स १३२ रनमै समेटिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १३२ रन बनाएको हो । पोखराका लागि ओपनर युवराज सिंह सम्राले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ८४ रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।
सम्राले ४७ बलमा सात चौका र पाँच छक्काको मद्दतमा ८४ रन जोडे । धनञ्जय लक्षनले १५ बलमा एक चौका र एक छक्कासहित २२ रन बनाए भने सन्नी विकले ११ बलमा एक छक्काको मद्दतमा १२ रन जोडे ।
एक समय ७६ रनमा पाँच विकेट गुमाएको पोखराका लागि युवराज र धनञ्जयले छैटौँ विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए । तर, त्यसपछि पोखराको इनिङ्स सम्हालिन सकेन ।
अर्जुन कुमालले एक, अर्जुन घर्तीले पाँच र विपिन खत्रीले पाँच रन बनाए । कुशल भुर्तेल, रमेश मेन्डिस, कप्तान चमिका करुणारत्ने र किरण ठगुन्नाले खाता खोल्न सकेनन् । सागर ढकाल एक रनमा अविजित रहे ।
पोखराको ब्याटिङ ध्वस्त पार्ने क्रममा विराटनगरका कप्तान सन्दीप लामिछानेले चार ओभरमा २७ रन खर्चेर ६ विकेट लिए । उनले खेलको १५औँ ओभरको तेस्रो, चौथो र पाँचौँ बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए । उनले युवराज सम्रा, चमिका करुणारत्ने र किरण ठगुन्नालाई लगातार तीन बलमा आउट गरेका हुन् ।
यससँगै सन्दीप एनपीएलमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि काठमाडौं गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक गरेका थिए ।
सन्दीपले यसअघिका पाँच खेलमा एक विकेट मात्रै लिएका थिए । तर, पोखराविरुद्धको एकै खेलमा छ विकेट लिएर उनले आफ्नो बलिङ प्रदर्शनमा उल्लेखनीय सुधार गरेका छन् ।
सन्दीप एनपीएलमा एकै खेलमा छ विकेट लिने तेस्रो खेलाडीसमेत बनेका छन् । यसअघि शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले एकै खेलमा छ विकेट लिएका थिए ।
विराटनगरका लागि एन्जेलो म्याथ्युज, चरिथ असलंका र रुपेश सिंहले एक-एक विकेट लिए ।

















प्रतिक्रिया