३० कार्तिक २०८३, सोमबार | November 16, 2026

रैथाने बासमती धान लोपोन्मुख अवस्थामा



उदयपुर । कुनै समय उच्च गुणस्तर र विशिष्ट बास्नाका कारण पहिचान बनाएको यहाँको रैथाने बासमती धानको खेती पछिल्लो समय घट्दै गएको छ । छोटो समयमा बढी उत्पादन दिने वर्णशङ्कर (हाइब्रिड) जातका धानप्रति कृषकको आकर्षण बढ्नु, सिँचाइ अभाव, रोगकिराको प्रकोप र उत्पादन लागत बढ्नुले परम्परागत बासमती खेती लोप हुने अवस्थामा पुगेको हो ।

विशेषगरी त्रियुगा नदीको तटीय क्षेत्रमा उत्पादन हुँदै आएको स्थानीय बासमती, करियाकामत (कालो बासमती) र चनमचुर धानको खेती क्रमशः घट्दै गएको छ । अन्य धानको तुलनामा बासमती खेती गर्न बढी समय र मेहनत लाग्ने तर उत्पादन कम हुने भएकाले कृषकले यसको खेती घटाउँदै लगेको बताएका छन् । पछिल्लो समय बासमतीको मौलिक बास्ना पनि हराउँदै गएको उनीहरूको भनाइ छ ।

स्थानीय कृषक सोमबहादुर दनुवारका अनुसार कृत्रिम बास्ना मिसाइएका आयातित बासमती चामलले बजार ओगटेपछि स्थानीय रैथाने बासमती विस्थापित हुँदै गएको छ । चौदण्डीगढी नगरपालिका-१० हडियाका हरिप्रसाद पौडेल पनि कृषकले परम्परागत जात छाडेर उन्नत धान लगाउन थालेको बताउँछन । उनका अनुसार पहिले पर्याप्त उत्पादन दिने बासमती, करियाकामत र चनमचुर धानले अहिले अपेक्षाअनुसार उत्पादन दिन छाडेका छन् । त्यसैले कृषकले घरायसी उपभोगका लागि मात्र यसको खेती गर्न थालेका छन् ।

त्रियुगा नगरपालिका–९ सुन्दरपुरका वडाध्यक्ष राजकुमार दनुवारका अनुसार उनका बाजेले १० बिघा र बुबाले तीनदेखि चार बिघासम्म बासमती खेती गर्थे । तर अहिले खेतीयोग्य जमिन घट्नु र उत्पादनमा कमी आउनुले केही जग्गामा मात्र बासमती लगाउने गरिएको छ ।

स्थानीय बजारमा बासमती चामल प्रतिकिलोग्राम करिब रु १३० मा बिक्री भइरहेको छ । त्रियुगा नगरपालिका-११ गाईघाटका अग्रज कृषक नारायणबहादुर बस्नेतका अनुसार पर्याप्त सिँचाइ र कम्पोस्ट मलको अभावले पनि रैथाने धानको उत्पादन प्रभावित भएको छ ।

त्रियुगा नगरपालिकाका कृषि शाखा प्रमुख माधव राउत जलवायु परिवर्तनका कारण खोलानाला सुक्दै जानु र पशुपालन घट्नुले कम्पोस्ट मलको उपलब्धता कम भएको बताउँछन ।

कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा जिल्लाको १३ हजार ३८० हेक्टर क्षेत्रफलमध्ये १२ हजार ८७७ हेक्टरमा धान खेती गरिएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा १२ हजार ९१२ हेक्टरमा खेती हुँदा ३१ हजार ३१८ मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लामा खेती गरिएको धानमध्ये सात हजार ३०३ हेक्टरमा मात्र सिँचाइ सुविधा उपलब्ध छ ।

त्रियुगा, चौदण्डीगढी, बेलका र कटारीका समथर भूभाग तथा भित्री मधेसका फाँटमा धान खेती हुँदै आएको छ । सिँचाइ, गुणस्तरीय बीउ र संरक्षणका कार्यक्रम प्रभावकारी नबनाइए रैथाने बासमतीको मौलिक पहिचान नै हराउने जोखिम बढेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  ८ : २१ बजे

Your email address will not be published.

धनगढीबाट काठमाडौं आउँदै गरेको बस कावासोतीमा दुर्घटना, २५ जना घाइते

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-११, लोकाहास्थित

पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चाप, होटल भरिभराउ

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा यतिबेला स्वदेशी तथा विदेशी

रैथाने बासमती धान लोपोन्मुख अवस्थामा

उदयपुर । कुनै समय उच्च गुणस्तर र विशिष्ट बास्नाका कारण

कोप-३१ को मध्यबिन्दुमा जलवायु प्रमुखको आग्रह : ‘सम्झौताका लागि सबै पक्ष लचिलो बन्नुपर्छ’

अन्ताल्या । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

काठमाडौं । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने