काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको हकहित, सुरक्षित श्रम आप्रवासन, सामाजिक सुरक्षा, गैरआवासीय नेपालीका सरोकार तथा नेपालको आर्थिक समृद्धिमा प्रवासी नेपालीको भूमिकालाई नीतिगत बहसको केन्द्रमा राख्दै आगामी डिसेम्बर ११ र १२ (मंसिर २६ र २७) मा कतारको राजधानी दोहामा यो सम्मेलन आयोजना हुँदैछ।
एनआरएनएको महत्त्वपूर्ण केन्द्र तथा मध्यपूर्व अभियानको मुख्य हबका रूपमा परिचित कतारमा हुन लागेको यस सम्मेलनलाई यसअघिका संस्करणभन्दा थप व्यवस्थित, प्रभावकारी र उपलब्धिमूलक बनाउने लक्ष्यसहित तयारीलाई तीव्र पारिएको छ। मध्यपूर्वमा रहेका नेपालीका समस्या र सम्भावनालाई एउटै मञ्चमा उठाएर सरकार, राजनीतिक नेतृत्व, एनआरएनएका संस्थापक तथा पूर्वअध्यक्षहरू, अभियन्ता र सरोकारवालाबीच सार्थक संवाद स्थापित गर्ने उद्देश्य आयोजकले लिएको छ।
मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठको नेतृत्वमा सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको हो। सम्मेलनलाई औपचारिकतामा मात्र सीमित नराखी विदेशमा पसिना बगाइरहेका नेपाली श्रमिकका वास्तविक समस्या समाधान र उनीहरूको कमाइलाई सही क्षेत्रमा लगानी गर्नका लागि नीतिगत बहस र ठोस निष्कर्ष निकाल्ने साझा मञ्चका रूपमा विकास गर्ने प्रयास भइरहेको श्रेष्ठले बताएका छन्।
तयारीका क्रममा संयोजक श्रेष्ठले कतार पुगेर स्थानीय आयोजक, एनआरएनएका पदाधिकारी तथा विभिन्न सरोकारवालासँग आवश्यक समन्वय र छलफल गरेका थिए। नेपाल फर्किएलगत्तै उनले सरकारी निकाय, राजनीतिक नेतृत्व तथा सम्बन्धित संस्थाका प्रतिनिधिसँगको भेटघाटलाई तीव्रता दिँदै सम्मेलनमा उच्चस्तरीय सहभागिता सुनिश्चित गर्ने अभियान अगाडि बढाएका छन्।
श्रेष्ठका अनुसार सम्मेलनमा सहभागिताको संख्याभन्दा पनि उठाइने विषय, हुने नीतिगत बहस र त्यसबाट प्राप्त हुने परिणामलाई महत्व दिइएको छ। यसैक्रममा उनले नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवसँग भेट गरी सम्मेलनमा सहभागिताका लागि औपचारिक निमन्त्रणा दिएका छन्। मन्त्रीसँगको भेटमा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका समस्या, चुनौती, श्रम अधिकार, सुरक्षा तथा उनीहरूको हकहित संरक्षणका विषयमा विस्तृत छलफल भएको थियो।
त्यसैगरी, प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक बासना थापालाई पनि सम्मेलनमा विशेष अतिथिका रूपमा सहभागिताका लागि निमन्त्रणा गरिएको छ। यसअघि एनआरएनएका पूर्वअध्यक्ष आरके शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रतिनिधिसभाका सभामुख डीपी अर्याललाई समेत सम्मेलनमा निमन्त्रणा गरिसकेको छ। यसरी सरकारका मन्त्री, संसद्का नेतृत्व तथा राजनीतिक दलका प्रतिनिधिलाई जोडिनुले यसपटकको सम्मेलनलाई संस्थागत र नीतिगत दृष्टिले थप महत्त्वपूर्ण बनाउने अपेक्षा गरिएको छ।
सामाजिक सुरक्षा कोषसँगको सहकार्यलाई यस सम्मेलनको एक प्रमुख एजेन्डाका रूपमा अघि बढाइएको छ। संयोजक श्रेष्ठले सामाजिक सुरक्षा कोषका निर्देशक रोहित रेग्मी तथा उनको टोलीसँग भेट गरी सम्मेलनमा राखिने विशेष सत्रबारे छलफल गरेका छन्। विदेशमा कार्यरत नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया, त्यसबाट प्राप्त हुने सुविधा र कोषसँग एनआरएनएको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा सो अवसरमा कुराकानी भएको थियो।
यसपटकको सम्मेलनमा एनआरएनएका संस्थापकदेखि पूर्वअध्यक्षहरू, नेपाल सरकारका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, सामाजिक अभियन्ता र मध्यपूर्वमा क्रियाशील सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहनेछ। विभिन्न पुस्ताका नेतृत्व र सरोकारवालाहरू एकै ठाउँमा उपस्थित हुँदा मध्यपूर्वका नेपालीका समस्या र सम्भावनाबारे बृहत् छलफल हुने विश्वास गरिएको छ।
विशेषगरी मध्यपूर्वका कतार, साउदी अरब, यूएई, कुवेत, बहराइन, ओमान र इराक लगायतका देशमा लाखौँ नेपाली कार्यरत छन्। उनीहरूले पठाउने रेमिट्यान्सले नेपाली अर्थतन्त्रमा ठूलो योगदान पुर्याए पनि श्रमिकको सामाजिक सुरक्षा, रोजगारीको स्थायित्व र अधिकार संरक्षण अझै चुनौतीपूर्ण रूपमा रहेको छ। तसर्थ, विदेशमा आर्जन गरेको सीप, अनुभव र पुँजीलाई नेपालको उत्पादन र उद्यमशीलतासँग जोड्ने विषयलाई सम्मेलनले विशेष प्राथमिकता दिनेछ।
सम्मेलनलाई सफल बनाउन व्यवस्थापन, आर्थिक परिचालन, अतिथि सत्कार, भिसा तथा दर्ता, प्रचारप्रसार र घोषणापत्र तयारीलगायतका विभिन्न उपसमितिहरू गठन गरी कामलाई अन्तिम रूप दिइएको छ। दोहामा हुन लागेको यो नवौँ क्षेत्रीय सम्मेलनले मध्यपूर्वका नेपाली समुदायलाई थप एकताबद्ध बनाउनुका साथै उनीहरूका साझा मुद्दालाई राष्ट्रिय नीतिसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
















प्रतिक्रिया