काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७, शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रिसोर्टमा विदेशी नागरिकको शंकास्पद गतिविधि भइरहेको भन्ने जनगुनासोका आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज मंसिर १ गते दिउँसो करिब ३ बजे प्रहरी नायब उपरीक्षक रविन विष्ट र प्रहरी निरीक्षक मनराज बानियाँको कमान्डमा खटिएको ३० सदस्यीय संयुक्त टोलीले रिसोर्टमा जाँच गरेको थियो ।
जाँचका क्रममा ३१ जना पुरुष र पाँच जना महिला गरी ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक ल्याइएको प्रहरीले जनाएको छ ।
रिसोर्टका दुईवटा कोठामा जाँच गर्ने क्रममा ठूलो संख्यामा ल्यापटप तथा मोबाइल फोन फेला परेको प्रहरीले जनाएको छ । बरामद विद्युतीय उपकरण र पक्राउ परेका व्यक्तिहरूका गतिविधिबारे थप अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी पाँचखालबाट करिब तीन किलोमिटर पूर्वमा पर्दछ ।
















प्रतिक्रिया