काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको हो ।
सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीका लागि निरोशन डिकवेलाले सर्वाधिक ५९ रन बनाए। ३७ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे । त्यसैगरी, कप्तान रोहित पौडेलले २८ बलमा २१ रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका थरिन्दु रत्नायकले २ विकेट लिए भने हेमन्त धामी र स्कट कुगलाइनले समान १ विकेट हात पारे ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०५ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए । ५१ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे। त्यस्तै, ईशान पाण्डेले ३३ बलमा २७ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान २ विकेट लिए । किशोर महतो र अभिषेक गौतमले पनि समान १ विकेट हात पारे ।
लिग चरणमा शीर्ष स्थानमा रहेको लुम्बिनीले पाँच खेलमा जित र एक खेलमा हार बेहोरेको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो । सात खेलबाट ११ अंक जोड्दै लुम्बिनी पहिलो क्वालिफायरमा पुगेको थियो ।
त्यस्तै, दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले सात खेलमध्ये पाँचमा जित र दुईमा हार बेहोरेको थियो । उसले १० अंक जोड्दै पहिलो क्वालिफायरमा स्थान बनाएको थियो ।
पहिलो क्वालिफायर जितेसँगै लुम्बिनी फाइनलमा पुगेको छ । सुदूरपश्चिमले भने फाइनल प्रवेशका लागि बुधबार हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।
बुधबार हुने इलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।
















प्रतिक्रिया