काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि मुछिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले अर्यालविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको छ ।
उच्च प्रहरी स्रोतका अनुसार, मलेसिया रोजगारीमा जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम संकलन गरी ठगी गरिएको प्रकरणमा अनुसन्धान गर्ने क्रममा अर्यालको समेत संलग्नता देखिएको हो । पक्राउ पुर्जी जारी भएपछि उनी सम्पर्कविहीन भएको र फरार रहेको बताइएको छ ।
यसै प्रकरणमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख ९सहसचिव० उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत ९उपसचिव० निर्मला गुरुङ छन् ।
६० वर्षीय कुँवर अछामको चौरपाटी गाउँपालिका–४ र ६१ वर्षीय यादव सर्लाहीको चक्रघट्टा गाउँपालिका–बेल्हीका बासिन्दा हुन् ।
यसअघि पनि सीआईबीले यही प्रकरणमा चार जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रवीन्द्र केसी, गोरखा नगरपालिका–३ का ४२ वर्षीय प्रवीण तिवारी र सर्लाहीको मलंगवा नगरपालिका–४ का ४५ वर्षीय रामपुकार तिवारी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा सीआईबीले अनुसन्धान अघि बढाएको हो । अनुसन्धानका क्रममा सरकारी अधिकारीहरूले मलेसिया सरकारसँग भएको समझदारीविपरीत गैरकानुनी रूपमा रकम संकलन गरिएको विषयमा आवश्यक कानुनी कारबाही नगरेको तथा संकलित रकम मलेसिया पठाउने निर्णयमा संलग्न रहेको प्रहरीको आरोप छ ।
प्रहरीका अनुसार, मलेसिया सरकार र नेपाल सरकारबीच भएको समझदारीविपरीत संकलन गरिएको रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ मलेसिया पठाउने निर्णय गरिएको थियो ।
सम्झौताको दायरा र कानुनी प्रक्रिया मिचेर अधिकार क्षेत्र नाघ्दै विदेशी मुद्रा मलेसिया पठाउने निर्णयमा सम्बन्धित अधिकारीहरूको संलग्नता रहेको सीआईबीको आरोप छ । श्रमिकमाथि संगठित रूपमा ठगी हुँदा पनि मौन बसेको, कानुनी उपचारको प्रक्रिया अघि नबढाएको र गैरकानुनी रूपमा संकलित रकम विदेश पठाउने निर्णयमा सहभागी भएको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सीआईबीले पक्राउ परेकाहरूमाथि ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान अघि बढाएको छ । अदालतबाट म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।
पूर्वमुख्यसचिव अर्यालको पक्राउ पुर्जी जारी भएसँगै मलेसिया रोजगारी ठगी प्रकरणमा तत्कालीन उच्च प्रशासनिक तथा राजनीतिक नेतृत्वको भूमिकामाथि अनुसन्धान थप फराकिलो बनेको छ ।
















प्रतिक्रिया