काठमाडौं । भारतका लागि नेपालका नवनियुक्त राजदूत निश्चलनाथ पाण्डेले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् । उनले बिहीबार दिउँसो राष्ट्रपति निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति मुर्मूसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।
प्रधानमन्त्री वालेन्द्र शाहको मंसिर ६ र ७ गते हुने भारत भ्रमणको पूर्वसन्ध्यामा राजदूत पाण्डेले ओहोदाको प्रमाणपत्र बुझाउन पाउनुलाई दुई देशबीचको कूटनीतिक सम्बन्धका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ ।
भारत सरकारले पाण्डेलाई नयाँ दिल्ली पुगेको ४८ घण्टा नबित्दै ओहोदाको प्रमाणपत्र बुझाउन आमन्त्रण गरेको थियो । सोमबार नियुक्त भएका पाण्डे मंगलबार कार्यभार सम्हाल्न नयाँ दिल्ली पुगेका थिए । बुधबार उनले भारतीय विदेश मन्त्रालयको शिष्टाचार महाशाखामा पुगेर कार्यभार सम्हालेको औपचारिक जानकारी गराएका थिए ।
नेपाल सरकारबाट राजदूत नियुक्तिसम्बन्धी पत्र पठाइएको तीन साताभित्रै भारतले पाण्डेको एग्रिमो ९सहमतिपत्र० प्रदान गरेको थियो । त्यसपछि भारत पुगेको छोटो समयमै उनले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।
सामान्यतया राजदूतले कार्यभार सम्हालेपछि ओहोदाको प्रमाणपत्र बुझाउने प्रक्रियामा केही समय लाग्ने भए पनि पाण्डेका हकमा भारतले छोटो समयमै प्रक्रिया पूरा गरेको छ । भारतका लागि नेपाली राजदूतले यति छोटो अवधिमा ओहोदाको प्रमाणपत्र बुझाएको यो पहिलो घटना भएको दाबी गरिएको छ ।
प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई मध्यनजर गर्दै भारतले नेपाली राजदूतको ओहोदाको प्रमाणपत्र बुझाउने प्रक्रिया तीव्रताका साथ अघि बढाएको घटनालाई नेपालप्रति देखाइएको कूटनीतिक सदासयताका रूपमा पनि व्याख्या गरिएको छ ।
राजदूत पाण्डेले ओहोदाको प्रमाणपत्र बुझाएसँगै भारतमा नेपालको औपचारिक कूटनीतिक प्रतिनिधित्व थप सक्रिय भएको छ । अब उनको प्राथमिकतामा दुई देशबीचको राजनीतिक, आर्थिक, व्यापारिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषय रहने अपेक्षा गरिएको छ ।
















प्रतिक्रिया