काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकसँग गैरकानुनी रूपमा रकम असुली गरी स्वास्थ्य परीक्षणको नाममा ठगी गरेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनालाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश उपेन्द्र केशर खनालको इजलासले मंगलबार उनीहरूलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई अनुमति दिएको हो । यसअघि उनीहरूलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको थियो ।
पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन सहसचिव उमेश ढुंगाना, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र तथा विकास रानाभाटसहितको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएपछि सीआईबीले उनीहरूलाई पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणको नाममा गैरकानुनी शुल्क असुल गरिएको खुलेको छ । म्याक्रोटेक प्रालिले बायो मेडिकल सर्भिस शुल्कका नाममा श्रमिकलाई अतिरिक्त स्वास्थ्य परीक्षण गर्न बाध्य पार्दै रकम असुल गरेको आरोप छ ।
मेडिकल स्क्रिनिङका नाममा श्रमिकबाट असुल गरिएको १ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँ मलेसिया पठाउन चार पटक मन्त्रीस्तरीय निर्णय भएको अनुसन्धानमा देखिएको छ । उक्त निर्णय तत्कालीन मन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवरको कार्यकालमा भएको बताइएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौंका ३६ वटा मेडिकललाई तोकिएको थियो ।
२०७५ सालको अन्त्यतिरदेखि मलेसिया जाने श्रमिकसँग प्रतिव्यक्ति १०० मलेसियन रिङ्गिट असुल गरिएको आरोप छ । तत्कालीन विनिमय दरअनुसार उक्त रकम नेपाली ३ हजार १६० रुपैयाँ बराबर थियो ।
यस प्रकरणमा यसअघि कागेश्वरी मनोहरा नगरपालिका–१ का कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का रविन्द्र केसी, गोरखा घर भई टोखा नगरपालिका–११ बस्ने प्रवीण तिवारी र सर्लाही घर भई गोकर्णेश्वर नगरपालिका–६ बस्ने रामपुकार तिवारी पक्राउ परेका थिए ।
सीआईबीले पक्राउ परेका सबैमाथि ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान गरिरहेको छ ।
















प्रतिक्रिया