ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले वैकल्पिक आवासको सुनिश्चितता नगरी विस्थापित सुकुम्बासी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गरेको छ।
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बसेको बैठकले सरकारको पछिल्लो कदम संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्म विपरीत रहेको ठहर गरेको छ।
का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार निर्णय फिर्ता र दिगो पुनर्वासको माग गरिएको छ । विस्थापित परिवारका घर भत्काएर व्यवस्थापन र लालपुर्जाको आश्वासन दिँदै महिनौँ अनिश्चिततामा राखेको सरकारले उल्टै अस्थायी आश्रयबाट समेत हटाउन खोज्नु मानवीय संवेदना र करुणाको अभाव भएको कांग्रेसको निष्कर्ष छ। नागरिकलाई हटाएर होइन, उनीहरूको समस्या हटाएर दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिँदै बैठकले होल्डिङ सेन्टर खाली गराउने निर्णय फिर्ता लिई सुरक्षित र सम्मानजनक पुनर्वास सुनिश्चित गर्न माग गरेको छ।
कांग्रेसले होल्डिङ सेन्टरको समन्वय र सहजीकरणका लागि केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा केन्द्रीय सदस्यहरू मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहेको समिति गठन गरिएको छ।
मंसिर ८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा हालसम्म ७० जना केन्द्रीय सदस्यले धारणा राखिसकेका छन् । धारणा राख्ने क्रम जारी रहेकाले अर्को बैठक २०८३ मंसिर ११ गते शुक्रबार बिहान ८स्३० बजे केन्द्रीय कार्यालयमा पुनः बस्ने विज्ञप्तिमा उल्लेख छ।
















प्रतिक्रिया