११ मंसिर २०८३, शुक्रबार | November 27, 2026

भैरहवा हवाइमार्ग दुईतर्फी बनाउने सहमतिले पर्यटन र अर्थतन्त्रमा नयाँ आशा



बुटवल । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तार गर्ने लामो समयदेखिको प्रतीक्षाबीच नेपाल र भारतबीच भैरहवा हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएपछि रुपन्देहीसहित समग्र लुम्बिनी प्रदेशका पर्यटन तथा उद्योग व्यवसायीमा नयाँ आशा जागेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको यो सहमतिलाई गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको पूर्ण उपयोग, लुम्बिनीको अन्तरराष्ट्रिय पर्यटन प्रवर्द्धन र सीमावर्ती क्षेत्रको आर्थिक गतिविधि विस्तारका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको द्विपक्षीय सहमतिअनुसार हाल एकतर्फी सञ्चालनमा रहेको काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाइने भएको हो । यसका लागि दुवै देशका प्राविधिक अधिकारीबीच थप परामर्श गरी आवश्यक सञ्चालन प्रक्रिया र तौरतरिका टुङ्ग्याइने संयुक्त वक्तव्यमा उल्लेख छ । यसले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय उडानको प्रवेश तथा बहिर्गमनलाई सहज बनाउने अपेक्षा गरिएको छ । करिब एक दशकभन्दा लामो समयदेखि अन्तरराष्ट्रिय हवाई प्रवेशमार्गको विषय उठाउँदै आएको नेपालका लागि यो सहमतिलाई हवाई सम्पर्क विस्तारको महत्वपूर्ण प्रगतिका रूपमा लिइएको छ ।

विशेषगरी गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण भएपछि पनि अपेक्षित सङ्ख्यामा अन्तरराष्ट्रिय उडान हुन नसक्दा लगानी, पूर्वाधार र व्यावसायिक सम्भावनाको पूर्ण उपयोग हुन सकेको थिएन । नयाँ सहमतिले विमानस्थललाई नियमित अन्तरराष्ट्रिय उडानको केन्द्रका रूपमा विकास गर्ने सम्भावना बढाएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको हवाई मार्गसम्बन्धी सहमतिलाई नेपालको पर्यटन विकासका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । उनले पर्यटन विकासको प्रमुख आधार हवाई सम्पर्क भएकाले भारतबाट भैरहवामा सहज हवाई आवागमन हुनसक्ने वातावरण निर्माण हुनु सकारात्मक रहेको बताए।

उनका अनुसार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यस क्षेत्रका उद्योगी, व्यवसायी, पर्यटन व्यवसायी तथा सर्वसाधारणले अन्तरराष्ट्रिय उडान विस्तार हुने अपेक्षा गरेका थिए । तर पर्याप्त हवाई सम्पर्कको अभावमा विमानस्थलले अपेक्षित गति लिन सकेको थिएन । अब हवाई मार्ग दुईतर्फी बनाउने सहमतिले विमानस्थलको उपयोग बढाउन, विदेशी पर्यटक आकर्षित गर्न र निजी क्षेत्रको लगानीलाई प्रतिफलमुखी बनाउन सहयोग पुग्ने उनको विश्वास छ ।

नेपाल ट्राभल एसोसिएसन नाटाका पूर्वअध्यक्ष सागर अधिकारीले भैरहवाबाट भारतका विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्यसँग हवाई सम्पर्क विस्तार गर्नसके नेपालको पर्यटन क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सकिने बताए । उनले नेपालको पर्यटन विकासका लागि विमानस्थल निर्माणसँगै सहज हवाई आवागमन र अन्तरराष्ट्रिय सम्पर्क आवश्यक रहेको उल्लेख गर्दै भैरहवाबाट भारतका गन्तव्यमा उडान सञ्चालन गर्ने प्रक्रिया छिटो अघि बढाउनुपर्नेमा जोड दिए ।

उनका अनुसार लुम्बिनी आउने पर्यटकको सङ्ख्या बढाउन भारतका प्रमुख धार्मिक तथा पर्यटकीय सहरसँग यातायात सम्पर्क सहज हुनुपर्छ । विशेषगरी बुद्ध सर्किटअन्तर्गतका भारतीय गन्तव्य र नेपालको लुम्बिनी क्षेत्रलाई एउटै पर्यटन प्याकेजमा जोड्नसके पर्यटकको बसाइ अवधि बढ्नुका साथै होटल, ट्राभल, यातायात, रेस्टुरेन्ट र अन्य पर्यटन व्यवसायमा आर्थिक गतिविधि विस्तार हुनेछ ।

भारतको उत्तर प्रदेशस्थित लखनउ, वाराणसी, सारनाथ, कुशीनगर, श्रावस्ती तथा विहारका बोधगया, नालन्दा र वैशालीजस्ता बौद्ध तथा धार्मिक गन्तव्यसँग नेपालको लुम्बिनी क्षेत्रलाई जोड्न सकिने पर्यटन व्यवसायीको भनाइ छ । अयोध्या र वाराणसीजस्ता धार्मिक सहरबाट आउने पर्यटकलाई लुम्बिनी, तिलौराकोट, देवदह र रामग्रामसम्म पुग्ने सहज यात्रा प्याकेज विकास गर्नसके नेपाल र भारत दुवै देशले पर्यटनबाट लाभ लिनसक्ने सम्भावना छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राध्यापनरत सुरज घिमिरेले गौतमबुद्धको जन्मस्थल लुम्बिनी केबल बौद्ध धर्मावलम्बीको तीर्थस्थल मात्र नभई शान्ति, अहिंसा, सकारात्मक सोच, ध्यान र मानव कल्याणको सन्देश विश्वभर फैलाउने महत्वपूर्ण केन्द्र भएको बताए । उनले बुद्धको जीवन र दर्शनसँग जोडिएका स्थलको भ्रमण गर्न विश्वका विभिन्न मुलुकबाट लाखौँ मानिस इच्छुक रहेको उल्लेख गर्दै भारतबाट सहज हवाई सम्पर्क स्थापित हुनसके लुम्बिनी आउने पर्यटकका लागि यात्रा थप सहज हुने बताए ।

उनका अनुसार बुद्धको जन्मस्थल लुम्बिनी, ज्ञान प्राप्तिस्थल भारतको बोधगया, पहिलो धर्मदेशना गरेको सारनाथ र महापरिनिर्वाणस्थल कुशीनगरलाई जोड्ने बौद्ध पर्यटन मार्ग विश्वकै महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्यटन सञ्जाल हो । यसमा नेपालको लुम्बिनीलाई केन्द्र बनाएर कपिलवस्तुको तिलौराकोट, देवदह र रामग्रामसमेत जोड्नसके बौद्ध दर्शन, इतिहास र सभ्यतामा रुचि राख्ने पर्यटकका लागि लामो अवधिको भ्रमण प्याकेज विकास गर्न सकिने उनको भनाइ छ ।

नेपालको बुद्ध सर्किटअन्तर्गत लुम्बिनी, प्राचीन कपिलवस्तुको तिलौराकोट, देवदह र रामग्राम महत्वपूर्ण गन्तव्य हुन् । लुम्बिनीमा मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करणी पोखरी, अन्तरराष्ट्रिय विहार क्षेत्र तथा विभिन्न मुलुकका बौद्ध संस्कृतिको प्रतिनिधित्व गर्ने गुम्बा र विहार रहेका छन् ।

कपिलवस्तुको तिलौराकोटलाई सिद्धार्थ गौतमले राजकुमारका रूपमा जीवन बिताएको प्राचीन शाक्य राजधानीका रूपमा चिनिन्छ । देवदह कोलीय राज्य र मायादेवीको माइती क्षेत्रसँग सम्बन्धित छ भने रामग्राममा बुद्धको अस्तुधातु सुरक्षित रहेको ऐतिहासिक स्तूप छ । यी सम्पदाको संरक्षण र प्रचारप्रसारसँगै अन्तरराष्ट्रिय यातायात सम्पर्क विस्तार गर्नसके लुम्बिनी क्षेत्रलाई विश्वव्यापी बौद्ध पर्यटनको प्रमुख केन्द्र बनाउन सकिने सम्भावना छ । भारत सरकारलेसमेत बौद्ध पर्यटन सर्किटको अवधारणामा लुम्बिनीलाई बोधगया, सारनाथ, कुशीनगर र कपिलवस्तुसँग जोड्ने योजना अघि सारेको छ । यसले नेपाल र भारतबीच संयुक्त पर्यटन प्याकेज विकास गर्न थप आधार प्रदान गर्छ ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको दुईतर्फी हवाइमार्ग सञ्चालनले पर्यटनमा मात्र नभई उद्योग, व्यापार, होटल, कृषि, निर्माण, यातायात र सेवा क्षेत्रसमेत लाभान्वित हुने अपेक्षा गरिएको छ । विदेशी पर्यटकको आवागमन बढेमा होटल तथा रिसोर्टमा रोजगारी सिर्जना हुनुका साथै स्थानीय उत्पादन, हस्तकला, खाद्य सामग्री र अन्य सेवाको माग बढ्नेछ । विमानस्थललाई आधार बनाएर अन्तरराष्ट्रिय सम्मेलन, बौद्ध अध्ययन, ध्यान तथा योग शिविर र धार्मिक पर्यटनका कार्यक्रम आयोजना गर्न पनि सहज हुनेछ ।

विशेषगरी श्रीलङ्का, थाइल्यान्ड, म्यानमार, भियतनाम, चीन, जापान, दक्षिण कोरिया तथा अन्य बौद्ध धर्मावलम्बीको बाहुल्य भएका मुलुकबाट आउने पर्यटकलाई भारतका प्रमुख हवाई तथा धार्मिक गन्तव्य हुँदै लुम्बिनीसम्म ल्याउन सकिने सम्भावना छ । यसका लागि अन्तरराष्ट्रिय वायुसेवा कम्पनी, पर्यटन व्यवसायी र दुवै देशका सम्बन्धित निकायबीच समन्वय आवश्यक हुनेछ ।

भैरहवा–सुनौली नाकाबाट भारतसँग जोडिएको रुपन्देही व्यापार, उद्योग र पर्यटनको महत्वपूर्ण केन्द्रसमेत हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्नसके यस क्षेत्रको आर्थिक गतिविधि सीमा क्षेत्रभन्दा बाहिर अन्तरराष्ट्रिय बजारसम्म विस्तार हुनसक्छ । विमानस्थलसँगै विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्र, होटल तथा पर्यटन पूर्वाधारमा भएको लगानीलेसमेत नयाँ व्यावसायिक अवसर पाउने अपेक्षा गरिएको छ ।

यद्यपि दुईतर्फी हवाई मार्गसम्बन्धी सहमतिलाई व्यवहारमा उतार्न प्राविधिक प्रक्रिया शीघ्र टुङ्ग्याउनु, अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्नु, उडानको नियमितता सुनिश्चित गर्नु र पर्यटकीय पूर्वाधार सुधार गर्नु आवश्यक छ । भारतका धार्मिक तथा बौद्ध पर्यटन गन्तव्यसँग संयुक्त प्रचारप्रसार, सहज भिसा तथा आवागमन प्रक्रिया र आकर्षक पर्यटन प्याकेज निर्माण पनि उत्तिकै महत्वपूर्ण हुनेछन् ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको सहमतिले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको भविष्यप्रति नयाँ अपेक्षा सिर्जना गरेको छ । अब यसको प्रभावकारी कार्यान्वयन हुनसके बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तरराष्ट्रिय पर्यटकको आवागमन बढ्नुका साथै रुपन्देही र समग्र लुम्बिनी प्रदेशको उद्योग, व्यापार तथा पर्यटन क्षेत्रले नयाँ गति लिने विश्वास गरिएको छ । यसले लुम्बिनीलाई विश्व शान्तिको सन्देश फैलाउने आध्यात्मिक गन्तव्यका रूपमा मात्र नभई नेपालको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने अन्तरराष्ट्रिय पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने अवसर प्रदान गर्न सक्छ ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  ३ : २९ बजे

Your email address will not be published.

सिद्धार्थ बैंकद्वारा नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गका लागि N-Tag सेवा सञ्चालनमा

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले सडक बोर्ड नेपालसँगको सहकार्यमा नागढुङ्गा-सिस्नेखोला

भैरहवा हवाई प्रवेशमार्गसम्बन्धी सहमति सकारात्मक छ : शंकर पोखरेल

पोखरा । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका

राष्ट्रपतिसँग प्रधानमन्त्री बालेन्द्रको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका

भैरहवा हवाइमार्ग दुईतर्फी बनाउने सहमतिले पर्यटन र अर्थतन्त्रमा नयाँ आशा

बुटवल । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तार गर्ने लामो

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)