६ भदौ २०८३, शनिबार | August 22, 2026

वर्षा र हिमपात नहुँदा पशुलाई चरन अभाव



गलेश्वर । विगत छ महिनादेखि वर्षा नहुँदा र हिमाली क्षेत्रमा हिउँ नपर्दा म्याग्दीको बेँसी क्षेत्रदेखि उच्च लेकाली क्षेत्रमा पालिएका पशुलाई चरनको अभाव भएको छ । लामो खडेरी र सुक्खाका कारण लेक तथा खर्कमा घाँस नउम्रेपछि पशुपालक कृषकलाई समस्या उत्पन्न भएको हो ।

लामो समयदेखि हिउँदे वर्षा नहुँदा खानेपानीका मुहानसमेत सुक्न थालेका छन् । वर्षा नहुँदा कृषकलाई घाँसकोसमेत समस्या हुन थालेको हो । वन, खर्क र खोलामा आश्रित भएका पशुपालक कृषक अहिले हिउँदे वर्षा नहुँदा समस्यामा परेका हुन् । आफूले पालेका गाईभैँसी लगायतका अन्य पशु चौपायालाई कसरी पाल्ने होला भन्ने चिन्तामा अहिले कृषक रहेको मालिका गाउँपालिका-५ देविस्थानका पशुपालक कृषक डेकबहादुर बूढाले बताए ।

उनका अनुसार सामान्यतया माघको दोस्रो हप्ताबाट घाँस पलाउन सुरू हुन्छ । हिमपात भएर चिस्यान बढेसँगै खर्कमा घाँस पलाउन सुरु हुन्छ । यस वर्ष भने हिउँदे वर्षा नहुँदा घाँस पलाउन सकेको छैन । यसरी घाँस नपलाउँदा घाँसको अभावमा कृषकलाई अब कसरी आफ्ना गाईभैँसी र भेडा बाख्रा पाल्ने भन्ने चिन्ताले सताएको छ ।

दिनभर वन जङ्गलमा लगेर छाड्ने र रातमा गोठमा बाँधेर गाईभैँसी पाल्दै आएका कृषक सबैभन्दा बढी समस्यामा परेका छन् । हिउँदको अन्तिम र गर्मीको सुरुआतसँगै चरण क्षेत्रमा घाँस पलाउने गरेको भएता पनि यस वर्ष गत असोज महिनापछि पानी परेको छैन ।

हिउँदे वर्षा नहुँदा हिउँदे अन्न बालीसमेत सुक्दै जान थालेको छ । कतिपय पशु कृषकले घाँस आफ्नो बारीमा लगाएका हुन्छन् । धेरै जसो कृषक वन जङ्गल तथा खोलाको नजिकमा भएको घाँसको भरमा पशुपालन व्यवसाय गरिरहेका छन् ।

खेतमै सुक्यो हिउँदे बाली

फागुन पहिलो सातासम्म पनि हिउँदे वर्षा नहुँदा र हिउँ नपर्दा हिमाली जिल्ला म्याग्दी र मुस्ताङमा लगाइएको हिउँदे बाली खेतमा नै सुकेको छ । हिउँदे बाली लगाएदेखि वर्षा नहुँदा यहाँका किसान चिन्तित भएका छन् । हिउँदे वर्षा नभएपछि म्याग्दी र मुस्ताङमा यस वर्ष उत्पादनमा कमी आउने अनुमान गरिएको छ ।

लामो समयसम्म परेको खडेरीका कारण जिल्लामा गहुँ, जौ, केराउ, मुसुरोलगायत बालीको उत्पादनमा कमी हुने देखिएको छ । खडेरीका कारण अधिकांश क्षेत्रमा लगाइएको हिउँदे बाली सुक्ने थालेपछि वर्षभरि परिवार पाल्ने चिन्ताले सताउन थालेको बेनी नगरपालिका-२ का टेकबहादुर कार्कीले बताए ।

“आकाशे वर्षा नहुँदा खेतबारीमा लगाइएको हिउँदेबाली सुकेर आगो लगाउने जस्तो भएको छ”, कार्कीले भने, “कात्तिकमा छरेको गहुँ, जौ सुकेको छ, अहिलेसम्म कोसेवाली पनि दाना नै लागेको छैन ।” यहाँका किसान हिउँदे खेतीमा गहुँ, जौँ, केराउ मुसुरो लगायतका बाली लगाउने गर्छन् ।

आकाशे पानीको भरमा खेती गरिने जिल्लाका अधिकांश क्षेत्रमा पानी नपरेपछि सबैजसो बाली सुक्न थालेका छन् । म्याग्दीमा ११ हजार चार सय ३० हेक्टर जमिनमा गहुँ खेती गरिँदै आएकामा छ हजार तीन सय सय २० हेक्टर जमिनमा मात्रै मात्रै सिँचाइको सुविधा छ ।

सिँचाइको सुविधा नभएका ठाउँमा कतिपय किसानले गहुँ बालीसमेत छर्न पाएनन् भने छरेका ठाउँमा पनि खडेरीका कारण बालीनाली सुक्न थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ । हिउँदे बालीको बीउ छरेको १५/२० दिनभित्रमा पानी परे सुरुदेखि बाली राम्रो देखिन्छ । पुससम्म पानी नपरे हिउँदे खेती बिग्रने सम्भावना हुन्छ । फागुनको पहिलो हप्ता बितिसक्दासमेत पानी परेको छैन । आकाशे पानीका भरमा खेती गर्नुपर्ने अवस्था रहेकाले उब्जनी खासै नहुने मालिका-२ का हेमबहादुर शिर्पालीले बताए ।

कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार जिल्लामा गत वर्ष १५ हजार ४०७ मेट्रिकटन गहुँ उत्पादन भएकामा यस वर्ष भने समयमै पानी नपरेका कारण गहुँ उत्पादनमा कमी आउने देखिएको छ । सिँचाइ सुविधा नभएका ठाउँमा कतिपय कृषकले गहुँबालीसमेत लगाउन नपाएको स्थानीय तहका कृषि प्राविधिकले बताएका छन् । लामो समयसम्म पानी नपर्दा र सिँचाइ सुविधा पनि नभएको क्षेत्रमा हिउँदेबाली सुक्न थालेको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  २ : २७ बजे

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र

स्वेजको विकल्प बन्दै नर्दन सी रुट ‘आर्कटिक मार्ग’, व्यावसायिक चुनौती कायमै

पेरिस । खाडी क्षेत्रमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

धनगढी । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

चितवनको खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन । जिल्लाको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज