२ श्रावण २०८३, शनिबार | July 18, 2026

भुटानी शरणार्थी प्रकरण : गम्भीर रुपमा छानबिन गरिनुपर्ने सांसदको माग



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदले अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररुपमा छानबिन गरिनुपर्ने माग राखेका छन ।

सांसद अर्जुननरसिंह केसीले नक्कली भुटानी शरणार्थी काण्डले राष्ट्रलाई नै लज्जित बनाएको उल्लेख गर्दै यसमा मुछिएका सबै व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले यस विषयबारे अध्ययन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरे ।

“जो, जहाँ, जुनसुकै पदमा भए पनि गम्भीर छानबिन गरी कारबाही गरिनुपर्छ । विभिन्न देशमा पूर्वप्रधानमन्त्रीसमेत विभिन्न प्रकरणमा परेर कारबाही भएका उदाहरण छन्”, सांसद केसीले भने, “यो प्रकरणबारे भूतपूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गरिनुपर्छ ।”

सांसद असीम शाहले पनि नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररुपमा छानबिन आवश्यक रहेको बताए । सांसद चित्रबहादुर केसीले राज्यसत्ताका महत्वपूर्ण ठाउँमा बसेका नै यो प्रकरणमा मुछिएको भन्दै संसद्ले यो विषयलाई गम्भीररुपमा लिनुपर्ने बताए । यो प्रकरणलाई मोडेर विषयान्तर हुन खोजेकोबारे पनि सांसद केसीले संसद्को ध्यानाकर्षण गराए ।

“कुनै नयाँ काण्ड आउँछन् र त्यसपछि फेरि विषय अर्कोतर्फ मोडिन्छ । त्यसकारण यो काण्डबारे दूधको दूध पानीको पानी हुनेगरी छानबिन गरिनुपर्छ । यो विषय टुङ्ग्याएर मात्र संसद्ले आफ्ना काम अगाडि बढाउनुपर्छ”, उनले भने ।

आजको बैठकको शून्य समयमा बोल्नुहुँदै सांसद अच्युतप्रसाद मैनालीले हात्ती आतङ्कको विषय उठाएका थिए । बारा जिल्लामा करिब एक हप्तादेखि हात्ती आतङ्क चलिरहेकाले त्यसलाई नियन्त्रण गरिनुपर्नेमा उनले संसदमार्फत् सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन ।

सांसद अञ्जनी श्रेष्ठले चितवनका व्यवसायी शङ्कर कँडेलको आत्महत्याबारे गम्भीररुपले छानबिन हुन नसकेको विषय उठाएका थिए । त्यस्तै सांसद अनिता देवीले स्यानिटरी प्याडको मूल्य महँगो भएको भन्दै यसमा शून्य करको व्यवस्था गरिनुपर्ने धारणा राखे ।

“स्यानिटरी प्याड विलासिताको वस्तु नभएर आधारभूत आवश्यकताको वस्तु हो । यसकारण स्यानिटरी प्याडमा अहिले लागिरहेको सबै कर हटाएर शून्य करको व्यवस्था गरिनुपर्छ”, उनले भने ।

सांसद अनिसा नेपाली र आस्माकुमारी चौधरीले कृषि क्षेत्रलाई सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटको प्राथमिकतामा राख्नुपर्ने बताए । अहिले बजारमा भारतीय तरकारी छ्याप्छ्याप्ती रहेको तर नेपाली उत्पादनले बजार नपाएको उल्लेख गर्दै सांसद नेपालीले आन्तरिक उत्पादन बढाउन र बजार खोज्नका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।

सांसद आस्माकुमारी चौधरीले कृषि क्षेत्रलाई बढावा दिन जल, मल, बीउ, विषादी समयमै उपलब्ध गराउन आवश्यक रहेको बताए । त्यस्तै भूमिहीन सुकुम्बासीका समस्यालाई पनि सरकारलाई गम्भीररुपमा लिनुपर्ने उनको भनाइ छ । सांसद अमृतलाल राजवंशीले पनि अव्यवस्थित बसोबास र सुकुम्बासीको समस्या आजको संसद्मा उठाएका छन ।

सांसद अम्मरबहादुर रायमाझीले अहिले स्वास्थ्य सेवा निकै महँगो भएको धारणा राख्दै सबै नागरिकलाई स्वास्थ्यमा सहज पहुँचका लागि सरकारले पहल गर्नुपर्ने बताए । त्यस्तै कटारी अस्पताललाई ५० श्ययाको सुविधासम्पन्न अस्पताल बनाउन पनि उनले माग राखे ।

सांसद ईश्वरी घर्तीले सबै जनप्रतिनिधि र सरकारी कर्मचारीले आफ्ना छोराछोरी अनिवार्यरुपमा सरकारी विद्यालयमा भर्ना गरिनुपर्ने व्यवस्था गरिनुपर्ने बताइन । सङ्घीय शिक्षा ऐन बन्न नसक्दा शिक्षा क्षेत्रको गुणस्तर थप खस्किँदै गएकोबारे पनि उनले संसद्को ध्यानाकर्षण गराइन ।

राष्ट्रिय गौरवको हुलाकी सडक आयोजनाको काम अलपत्र परेकोबारे सांसद ऋषिकेश पोखरेलले संसद्मा कुरा उठाएका छन । सांसद ऐनबहादुर शाही ठकुरीले हिमाली जिल्लामा यार्सागुम्बा सङ्कलन गर्नेक्रममा मुगु जिल्लामा हिमपहिरोमा परी केही व्यक्ति हराइरहेकाले ती व्यक्तिको खोजबिन गरिनुपर्ने र थप दुर्घटना हुन नदिन विपद् व्यवस्थापन तथा पूर्वतयारीका विषयलाई सरकारले गम्भीररुपले लिनुपर्ने बताए ।

आजको संसद्मा सांसद गणेश पराजुलीले काठमाडौं उपत्यकाको खानेपानी व्यवस्थापनका चुनौतीको विषय संसद्मा उठाएका थिए भने सांसद गङ्गा कार्कीले दोलखाको तामाकोशी पुल जीर्ण भइसकेकाले उक्त पुल जीर्णोद्धार गरिनुपर्ने माग राखे । सांसद चन्दा कार्की भण्डारीले आगामी आर्थिक वर्षको बजेटमा सूर्तीजन्य वस्तुमा कर बढाएर ४० देखि ५० प्रतिशत हाराहारी पु¥याउनुपर्ने बताए ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  १ : ३४ बजे

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ

चीनको चोङकिङमा पहिरो : आठको मृत्यु, ३४ जना बेपत्ता

चोङकिङ । चीनको दक्षिणपश्चिमी सहर चोङकिङमा पहिरोमा परी कम्तीमा आठजनाको

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन भाद्र १ गते

नेपालगन्ज । दलगत प्रतिस्पर्धाको परम्परा रहँदै आएको नेपालगन्ज उद्योग वाणिज्य

सरकारको नियत ठीक छ, जनतालाई मर्का परे निर्णय तुरुन्त सच्याइन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौँ । यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय