काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीको सदस्यता नविकरण गरेका छन् । एमाले केन्द्रीय कार्यालय, च्यासल पुगेर ओलीले शुल्क र लेबी बुझाउँदै सदस्यता नविकरण गरेका हुन् ।
एमाले केन्द्रीय कार्यालय, च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफैँ पुगेर अध्यक्ष ओलीले तोकिए बमोजिमको लेवी र सदस्यता शुल्क बुझाएको एमालेले जनाएको छ ।
अध्यक्ष ओलीलाई केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रकम बुझेर रसिद बुझाएका थिए । एमाले नेता कार्यकर्ताहरूले प्रत्येक वर्ष सदस्यता शुल्क र लेबी बुझाउने गरेका छन् । सांसदसहित पार्टीबाट लाभको पदमा नियुक्त भएकाहरुबाट एमालेले लेबी उठाउने गरेको छ ।
एमालेले सदस्यता शुल्क वार्षिक ३०० रुपैयाँ तोकेको छ । सदस्यता शुल्क सहित ओलीले लेबीबापत प्रति महिना २५ हजारका दरले १२ महिनाको ३ लाख बुझाएको जनाइएको छ । ओलीले लेबी र सदस्यता शुल्क गरेर कुल ३ लाख ३०० रुपैयाँ बुझाएको एमालेले जनाएको छ ।



















प्रतिक्रिया