काठमाडौं । आईसीसी टी-२० विश्वकप इस्ट एसिया-प्यासिफिक छनोटको तालिका सार्वजनिक भएको छ । विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले बिहीबार कुल नौ टोलीको सहभागिता रहने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
प्रतियोगितामा नेपाल, पपुवा न्युगिनी (पीएनजी) र ओमानसँगै कुवेत, मलेसिया युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, जापान र समाओ सहभागी हुनेछन् । तालिकाअनुसार अक्टोबर ८ देखि ओमानमा हुने प्रतियोगितामा नेपाल समूह-२ मा परेको छ । यो समूहमा नेपालसँगै कुवेत र जापान छन् ।
प्रत्येक समूहमा तीन टिम रहने गरी सहभागी नौ टिमलाई आईसीसीले तीन समूहमा विभाजन गरेको छ । जसअनुसार समूह-१ मा यूएई, मलेसिया र कतार छन् । समूह-३ मा ओमान, पीएनजी र समाओ छन् ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा अक्टोबर ८ मै कुवेतसँग खेल्नेछ । यसपछि नेपालले अक्टोबर १० मा जापानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको प्रत्येक समूहबाट शीर्ष दुई टोली सुपर-६ मा प्रवेश गर्नेछन् । जहाँबाट शीर्ष तीन टिमले सन् २०२६ मा आयोजना हुने ट्वान्टी-२० विश्वकपमा स्थान बनाउनेछन् ।


















प्रतिक्रिया