६ श्रावण २०८३, बुधबार | July 22, 2026

हिउँदयाम सुरु भएको खुसीयालीमा मुक्तिक्षेत्रमा ‘यार्तुङ’ आरम्भ



मुस्ताङ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भ भएको छ । यहाँको वडा एक खिङ्गा गाउँबाट यस वर्षको ‘यार्तुङ’ पर्व थालिएको हो । सोमबार खिङ्गा गाउँका गाउँलेले यार्तुङ पर्व हर्षोल्लासमय रूपमा मनाएका छन् ।

‘यारको अर्थ बर्खा’ र ‘तुङको अर्थ समाप्ति’ भन्ने बुझिन्छ । यसैका खातिर बर्खायाम सकिएको र हिउँदयाम सुरु भएको भन्दै खिङ्गा गाउँमा यार्तुङ पर्व मनाइएको हो । बर्खायाममा उवा र जौँ लगायतका अन्नबाली थन्क्याएर खेतबारीमा फापरबाली छरेपछि वारागुङ मुक्तिक्षेत्रमा ‘यार्तुङ’ पर्व मनाइने गरिन्छ । यार्तुङ पर्वका बेला यहाँका स्थानीय नागरिक फुर्सदिला हुन्छन् । यही फुर्सदिलो महिनामा धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङ सदीयौँदेखि मनाइने गरिएको हो ।

यार्तुङ पर्वमा प्रकृति र विश्वशान्तिको कामना गरिने प्रचलन रहेको वारागुङ मुक्तिक्षेत्र-१ वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाभित्रका १९ वटा गाउँ र उपल्लो मुस्ताङमा फरकफरक तिथिमा यार्तुङ पर्व मनाइने गरिएको छ । खिङ्गा गाउँमा औपचारिक रूपमा यार्तुङ पर्व मनाउने क्रमको प्रारम्भ भएको उनले बताए । खिङ्गाबाट सुरु भएको धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङ त्यसपछि क्रमशः यहाँका सबै स्थानमा गुरुङ, विष्ट र लोवा समुदायले मनाउने प्रचलन छ ।

सोमबार खिङ्गा गाउँमा सबै घरका स्थानीय नागरिक समाजघरमा एकतृत भएका थिए । समाजघरमा जम्मा भएका स्थानीय गुरुङ समुदाय गाउँकै गुम्बामा सामूहिक रूपमा यार्तुङ पर्वको धार्मिक पूजापाठमा उपस्थित भए । गुम्बामा पुजारीद्वारा पूजापाठ सकेपछि पुनः समाजघरमा खानपान गरेर यार्तुङ पर्वको कार्यक्रममा सहभागी भएको वडाध्यक्ष गुरुङको भनाइ छ ।

स्थानीय पुरुष तथा महिलाको आफ्नो जातीय मौलिक वेशभूषा पहिरिएर मुक्तिनाथ मन्दिर र त्यहाँको नरसिंह गुम्बाको दर्शनमा निस्किएका थिए । अठार वर्षदेखि ६० वर्षसम्मका पुरुष तथा महिलाहरुले धार्मिक तथा सांस्कृतिक प्रचलनअनुसार यार्तुङ पर्वलाई आत्मसात् गर्दै खिङ्गा गाउँबाट मुक्तिनाथसम्मको यात्रा पूरा गरेका थिए । पुरुषहरू वेशभूषामा चिटिक्क सजिदै घोडामा सवार थिए भने महिला घोडाको अघिअघि स्थानीय भाषामा यार्तुङसम्बन्धी गीत गाउँदै मुक्तिनाथतर्फ लागेका थिए ।

महिलाले स्थानीय भाषामा गीत गाउँदै यार्तुङ पर्व आयो, यार्तुङमा सबैलाई राम्रो भयो, अनिष्ट भएन, प्रकृतिले साथ देओस र सबैतिर शान्ति छाओस् भन्ने कामना गरेको खिङ्गा गाउँकी स्थानीय सेर्केनी गुरुङले उल्लेख गरे । यार्तुङमा गाइने स्थानीय भाषाको गीतलाई फेन्दुन छोकी रिला भन्ने गरिएको स्थानीय सेर्केनी गुरुङको भनाइ छ ।

यहाँको खिङ्गा गाउँबाट दर्जनौँ घोडाको लावालस्करसहित निस्किएको टोलीले मुक्तिनाथ मन्दिर र त्यहाँको गुम्बा दर्शन गरी पुराङ रानीपौवामा फर्किएको थियो । खिङ्गा गाउँका युवाले मुक्तिनाथस्थित पुराङ रानीपौवामा साहसिक रूपमा घोडा दौडाएका थिए । गाउँका पुजारीसहित निस्किएको यार्तुङ टोलीले रानीपौवामा स्थानीय स्याब्रो नाच र स्थानीय भाषाको गीत गाउँदै रमाइलो गरेका थिए ।

स्थानीय याङजुङ गुरुङले यार्तुङ पर्वमा घोडा चढेर मनाउनैपर्ने प्रचलन रहेको बताए । “यार्तुङमा घोडा नचढेमा यार्तुङ पर्वको कुनै अर्थ हुँदैन, यार्तुङमा घोडा चढ्ने, तारा खेल्ने र स्थानीय सांस्कृतिक मौलिकता पस्किएरमात्र यार्तुङ पर्वको औचित्य हुने गुरुङले बताए । यार्तुङ पर्वमा गाउँका पुजारीले भोजन गरेपछि मात्रै गाउँले भोजन गर्न पाउने सांस्कृतिक प्रचलन रहेको उनले उल्लेख गरे ।

यहाँको खिङ्गा गाउँबाट मुक्तिनाथसम्मको करिब पाँच किलोमिटर दूरीमा घोडाका लस्कर निस्किएको थियो । घोडाको लस्कर निस्किँदा दुर्घटनाको जोखिम हुने भएकाले करिब एक घण्टा मुक्तिनाथ सडकमा सवारी चलाउन रोक लगाइएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ८ : ५३ बजे

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय